अध्यक्ष हिदम लामाको आह्वान: ‘७५३ वटै पालिकाले सिधै प्रभावित पालिकाको विपद् कोषमा सहयोग गराैँ’

हेटौँडा । बाढीपीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले देशभरका ७५३ वटै स्थानीय तहहरूलाई सिधै बाढी प्रभावित पालिकाहरूको विपद् व्यवस्थापन कोषमा सहयोग रकम पठाउन जोडदार अपिल गर्नुभएको छ। “जहाँको दुवाली त्यहीँको चपरी” भन्ने व्यावहारिक सिद्धान्तलाई अंगाल्दै प्रभावित पालिका आफैँले आफ्नो कार्यविधि अनुसार पीडितसम्म तत्काल राहत पुर्‍याउन सक्ने भएकाले सिधै पालिका-देखि-पालिका सहयोगको मोडल अपनाउनुपर्ने उहाँको तर्क छ।

​अध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै र विभिन्न निकायहरूमा लबिङ गर्दै माथिल्लो तहका कोषहरूमा रकम जम्मा गर्दा प्रक्रियागत ढिलासुस्ती हुन सक्ने भएकाले सिधै प्रभावित पालिकालाई सहयोग गर्दा वास्तविक पीडितले विना झन्झट तत्काल राहत पाउने बताउनुभएको छ। यही अवधारणालाई व्यवहारमा उतार्दै भीमफेदी गाउँपालिकाले रसुवाका गोसाइँकुण्ड र उत्तरगया तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई जनही १ लाखका दरले कुल ५ लाख रुपैयाँ सिधै पठाउने निर्णय गरिसकेको छ।

​उक्त सहयोग रकम व्यवस्थापनका लागि भीमफेदीका जनप्रतिनिधिहरूले आफ्नो पारिश्रमिकबाट योगदान गरेका छन् भने कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम कटाएका छन्। बाँकी रकम गाउँपालिकाको आन्तरिक विपद् व्यवस्थापन कोषबाट मिलान गरी प्रभावित पालिकाहरूको आधिकारिक खातामा सिधै पठाउन लागिएको हो। यस कदमले अन्य पालिकाहरूलाई पनि अन्तर-पालिका सहकार्यमा जुट्न प्रेरणा मिलेको छ।

​यसैबीच, भीमफेदी गाउँपालिकाले भोटेकोसी बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्नै गाउँपालिकाभित्रका नागरिकका परिवारलाई समेत प्रचलित कार्यविधि र मापदण्डअनुसार राहत उपलब्ध गराउने निर्णय गरेको छ। कठिन परिस्थितिमा प्रभावित पालिकाहरू र पीडित परिवारलाई तत्काल राहत पुर्‍याउन स्थानीय सरकारहरूबीचको यो प्रत्यक्ष ऐक्यबद्धता निकै प्रभावकारी हुने अध्यक्ष लामाको विश्वास छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.