हेटौँडा, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित सङ्कटलाई सम्बोधन गर्न नेपाली कांग्रेस बागमती प्रदेशले केवल आर्थिक सहयोगमा मात्र सीमित नरहेर दीर्घकालीन पुनर्स्थापना र नीतिगत पहललाई अगाडि बढाएको छ। बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको तर्फबाट संयुक्त रूपमा १० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठले केन्द्रीय कार्यालय सानेपामा पार्टी उपसभापति पुष्पा भुसाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो, जुन रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।
यस पटकको सहयोग केवल रकम संकलनमा मात्र सीमित नरहेर बाढीबाट पुगेको ठूलो जनधनको क्षतिलाई राहत दिन पार्टीका सबै तहका संरचनालाई परिचालन गरिएको छ। कांग्रेस बागमती प्रदेशका सभापति, संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा उद्धार र राहत कार्यलाई पारदर्शी र द्रुत बनाउन पार्टी प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा विशेष समन्वय समिति गठन गरी कार्य अघि बढाइसकिएको छ। समितिले प्रभावित जिल्लाका पार्टी निकायहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गरी सरकारी संयन्त्रहरूसँग समन्वय गरिरहेको छ।
राहत रकम बुझाउनेसँगै बागमती कांग्रेसले प्रदेश सरकारसमक्ष बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाका लागि स्पष्ट नीतिगत मागहरू समेत अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण कार्यक्रमलाई पूर्ण रूपमा बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न सरकारसँग जोडदार माग गरिएको छ। साथै, घरबारविहीन भएका परिवारहरूका लागि तत्काल अस्थायी र दीर्घकालीन रूपमा स्थायी पुनर्वासको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको छ।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य, यातायात र खाद्यान्नको व्यवस्थापनलाई सहज बनाउन प्रदेश सरकार मातहतका अस्पतालमा घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न, दीर्घरोगीहरूका लागि औषधि अभाव हुन नदिन र बिरामी तथा कुरुवालाई खानाको व्यवस्था गर्न आग्रह गरिएको छ। आवतजावतलाई सहज बनाउन तत्काल वैकल्पिक सडक, झोलुङ्गे पुल तथा बेलीब्रिज निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै बागमती कांग्रेस र संसदीय दलले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।










