रसुवा बाढीपीडितका लागि हेटौँडाका टोल विकास संस्था एकजुट: पहिलो दिनमै ६ लाख ४४ हजार बढी राहत कोषमा जमा!

हेटौँडा, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित बनेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हेटौँडाका टोल विकास संस्थाहरू एकीकृत रूपमा जुटेका छन्। टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आह्वानमा भाद्र १५ गतेदेखि सुरु गरिएको सहयोग अभियानको पहिलो दिनमै विभिन्न टोल विकास संस्थाहरू तथा वडा कार्यालयबाट कुल ६ लाख ४४ हजार २५६ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा दाखिला गरिएको छ।

​समितिले अभियानमा प्राप्त रकमको पूर्ण पारदर्शिता र विश्वसनीयता कायम राख्न कुन संस्थाबाट कति रकम जम्मा भयो भन्ने विस्तृत विवरण समेत सार्वजनिक गरेको छ। जस अनुसार पहिलो दिन हेटौँडा–२ को विजयशान्ती टोल विकास संस्थाबाट रु. १,०१,१११ र हेटौँडा–१ वडा कार्यालयबाट रु. १,०२,७७० जम्मा भएको छ। त्यसैगरी जिम्बाडाँडा, ओम नगर, स्कुलरोड, श्रमिक, सरस्वती, चिल्ड्रेनपार्क, सहभागी, तल्लो भर्‍याङ, नव निर्माण, रातोमाटे, चाँदनी, एकता र धाप टोल विकास संस्थाले पनि रकम दाखिला गरिसकेका छन्।

​विपत्तिको घडीमा स्थानीय तहका तल्लो संरचना (टोल विकास संस्था) हरूले देखाएको यो तदारुकताले नागरिक स्तरमा सामाजिक उत्तरदायित्वको बलियो उदाहरण प्रस्तुत गरेको छ। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले पहिलो दिनमै जोडिएर आर्थिक योगदान पुर्‍याउने सम्पूर्ण संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै अभियान निरन्तर रहने भएकाले बाँकी सम्पूर्ण टोल विकास संस्थाहरूलाई पनि यथाशक्य सहयोग रकम जम्मा गरी ऐक्यबद्धता जनाउन हार्दिक आग्रह गर्नुभएको छ।

 

Screenshot

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.