हेटौँडा । प्राकृतिक विपत्तिले मुलुक आक्रान्त बनेका बेला हेटौँडामा आयोजना गर्न लागिएको एक ठूलो धार्मिक तथा सामाजिक भेला स्थगन गरिएको छ। सर्वधर्म समाज नेपाल हेटौँडाले यही भदौ १७ गतेका लागि तय गरेको ‘सर्वधर्म सद्भाव ऐक्यवद्धता घोषणा अभियान’ रसुवामा आएको विनाशकारी बाढीका कारण अन्तिम समयमा आएर स्थगित गर्ने निर्णय गरेको हो। सिङ्गो देश नै विपद्को शोक र पीडामा रहेका बेला उत्सव वा घोषणा सभा गर्नु सान्दर्भिक नहुने निष्कर्ष निकाल्दै स्थानीय प्रशासनको सहमतिमा कार्यक्रम रोकिएको हो।
अभियानका लागि लगभग सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा पनि समाजले मानवीय संवेदनालाई प्राथमिकता दिएको छ। देशका सबै धर्मका गुरुहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखिएको उक्त ऐतिहासिक कार्यक्रममा करिब ३० हजार मानिस उतार्ने तयारी थियो। तर, देशैभर परेको शोकको छायाका कारण यति ठूलो जनसहभागितासहितको कार्यक्रम गर्नु व्यावहारिक नहुने देखेपछि आयोजक पछाडि हटेको हो।
समाजका अध्यक्ष राजेश वाग्लेले परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै कार्यक्रम स्थगन गरिएको स्पष्ट पार्नुभयो। “हामी कार्यक्रमको अन्तिम तयारीमा थियौँ, तर बाढीले सिर्जना गरेको विषम परिस्थितिले हामीलाई सोच्न बाध्य बनायो,” अध्यक्ष वाग्लेले भन्नुभयो, “यस्तो संवेदनशील समयमा भिडभाड र कार्यक्रम गर्नुभन्दा विपद्को सामना गर्नु मुख्य प्राथमिकता हो।” उहाँले अभियानमा साथ र सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै परिस्थिति अनुकूल भएपछि पुनः नयाँ मितिमा यो सद्भाव अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।










