हेटौँडामा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु: रेफ्रीलाई ब्याट-बल हस्तान्तरण गरी उद्घाटन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजना तथा मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि हेटौँडा-४ स्थित हुप्रचौर खेलमैदानमा औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा नगरस्तरीय क्रिकेट व्यवस्थापन समितिका संयोजक विवेक कार्कीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं हेटौडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले रेफ्रीलाई संयुक्त रूपमा ब्याट र बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभएको थियो।

​स्थानीय स्तरमा क्रिकेट खेलको विकास, क्षमतावान् खेलाडीको पहिचान र उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ११ वटा वडाका टिमहरूको सहभागिता रहेको छ। यसअघि लगातारको वर्षाका कारण खेलमैदान प्रभावित भई तालिका परिवर्तन गरिएको भए पनि आजदेखि नकआउट प्रणालीमा खेल सञ्चालन गरिएको छ। सहभागी ११ टोलीलाई चार वटा समूहमा विभाजन गरी मैदानमा उतारिएको छ।

​प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी तथा विभिन्न शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा हेटौँडा-१० का वडा अध्यक्ष फुर्वादोर्जे लामा, हेटौँडा-११ का वडा अध्यक्ष जुना दाहाल, हेटौँडा-४ का वडा सदस्यहरू गीता त्रिपाठी र जगन्नाथ पाण्डेको विशेष उपस्थिति थियो। त्यसैगरी आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समिति अध्यक्ष समिम खान, भुटनदेवी माविका व्यवस्थापन समिति अध्यक्ष तिलक पराजुली, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा तथा श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

​नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३० हजारसहित शिल्ड र प्रमाणपत्र हात पार्नेछ। यसका साथै खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ बापत रु. १ हजार तथा ‘म्यान अफ द सिरिज’ बापत रु. ५ हजार प्रदान गरिनेछ। उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र नवप्रतिभा खेलाडीलाई जनही रु. २ हजार ५ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

​प्रतियोगिताको तालिका अनुसार असोज २२ गते सेमिफाइनल र असोज २४ गते फाइनल खेल सञ्चालन हुनेछ। वडा तहबाटै प्रतिभा उजागर गर्दै नगरभित्र खेलकुदको माहोल तताएको यस प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूमा नयाँ उत्साह र ऊर्जा थपेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.