“मुटुलाई धड्किन देऊ”: हेटौँडामा २०५ जनाको निःशुल्क मुटु परीक्षण, ७० जनाको इको र १५० जनाको इसीजी

हेटौँडा। “मुटुलाई धड्किन देऊ” (Don’t Miss a Beat) भन्ने मूल नाराका साथ विश्व मुटु दिवसको अवसरमा हेटौँडामा आयोजित एकदिने निःशुल्क मुटु परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको आयोजनामा हेटौँडास्थित श्री भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा सञ्चालित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

​शिविरमा कुल २०५ जना नागरिकले आफ्नो मुटुको स्वास्थ्य परीक्षण गराएका छन्। जसमध्ये जटिल समस्याको पहिचानका लागि ७० जनाको इको (ECHO) र १५० जनाको इसीजी (ECG) परीक्षण गरिएको छ। मुटु सम्बन्धी रोगको समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यका साथ यस वर्षको नारालाई आत्मसाथ गर्दै सर्वसाधारणलाई आफ्नै घरआँगनमा विशेषज्ञ सेवा प्रदान गरिएको हो।

​हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुरका अध्यक्ष विजय कुमार वैद्यको अध्यक्षतामा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो उद्घाटन सत्रको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निर्मला व्लोनले गर्नुभएको थियो।

​शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीको प्रत्यक्ष स्वास्थ्य परीक्षण गरेको थियो। जसमा नेसनल मेडिकल कलेजका प्रोफेसर एवं मुटु रोग विशेषज्ञ डा. अचुतानन्द कर्ण, हेटौँडा अस्पतालका मेडिकल अफिसर डा. शशि कुमार यादव र मुटु विशेषज्ञ डा. बिपु भट्ट हुनुहुन्थ्यो। विशेषज्ञ टोलीले परीक्षणका साथै मुटुलाई स्वस्थ राख्न अपनाउनुपर्ने जीवनशैलीका विषयमा पनि परामर्श दिएका थिए।

​यस शिविरमा इसीजी तथा इको लगायतका प्राविधिक सेवा प्रवाहमा नेपाल ल्याब हाउस, हेटौँडाले प्राविधिक सहयोग पुर्‍याएको थियो। स्थानीय विभिन्न सामाजिक संघ-संस्थाहरूको सहकार्यमा सम्पन्न यस कार्यक्रमले जनमानसमा मुटुको नियमित हेरचाह र परीक्षणप्रतिको चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.