प्रदेश सरकारका कामलाई नतिजामुखी बनाउन वागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन करार, ढिलासुस्ती नगर्न कडा निर्देशन

हेटौँडा। वागमती प्रदेश सरकारको कार्यशैलीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका साथ मुख्यमन्त्री किरण थापाले आफ्ना मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री थापाले सरकारका ६ जना विभागीय र एक जना विनाविभागीय गरी कुल ७ जना मन्त्रीहरूसँग उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

​कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार मन्त्री भरत केसी, खानेपानी तथा ऊर्जा सिँचाइ मन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री राजेन्द्र प्रजापति र कृषि, पशुपन्छी तथा वन मन्त्री रामा आलेमगरले मुख्यमन्त्रीसमक्ष कार्यसम्पादन करार प्रस्तुत गरेका थिए। यसका साथै हालसम्म कुनै मन्त्रालयको विभागीय जिम्मेवारी नपाएका विनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङले पनि सोही हैसियतमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

​नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक समूहको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापा नेतृत्वको सरकार गठन भएको एक महिना व्यतीत भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकार बनेलगत्तै यो प्रक्रिया अघि बढाउने योजना रहे तापनि हालै आएको अविरल वर्षा, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण उद्धार तथा राहतमा खटिनुपर्दा सम्झौता कार्यक्रम केही समय पछि सरेको मुख्यमन्त्रीले प्रष्ट पार्नुभयो।

​समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यो करार सम्झौता केवल औपचारिकतामा मात्र सीमित नरही प्रदेश सरकारको समग्र कार्यसम्पादनलाई चुस्त बनाउने मुख्य आधार हुने दाबी गर्नुभयो। उहाँले जनतासँग प्रत्यक्ष जोडिएका विकास निर्माण र सेवा प्रवाहका काममा कुनै पनि बहानामा ढिलासुस्ती नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिनुभयो।

​अब यो प्रणालीलाई तल्लो तहसम्म लैजाने योजना सुनाउँदै मुख्यमन्त्री थापाले मन्त्रीहरूले आफ्ना विभागीय सचिवहरूसँग र सचिवहरूले मातहतका कार्यालय प्रमुखहरूसँग क्रमशः कार्यसम्पादन करार गर्ने जानकारी दिनुभयो। शासकीय सुधार र सुशासनको यो शृङ्खलाले प्रदेश सरकारका योजनाहरूलाई समयमै सम्पन्न गर्न र आम नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.