हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा सञ्चालित सो शिविरबाट कुल ४६० जना स्थानीयवासीले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्थानीय तहमा नै सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रिसर्च सेन्टरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
शिविरमा सर्वसाधारणलाई लक्षित गरी विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा उपचार तथा परामर्श प्रदान गरिएको थियो। जसमा हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसूति, बालरोग, नाक-कान-घाँटी र दन्तरोग जस्ता जटिल स्वास्थ्य समस्याको विशेष परीक्षण गरिएको थियो। यसका साथै, सामान्य शारीरिक जाँच, विभिन्न प्रकारका प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) र आवश्यक औषधिहरू समेत नि:शुल्क वितरण गरिएको थियो।
टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा-८ का अध्यक्ष कुमार केसीको अध्यक्षतामा सम्पन्न उक्त शिविरलाई हेटौंडा उपमहानगरपालिका वडा नं. ८ ले आर्थिक तथा व्यवस्थापकीय सहयोग गरेको थियो भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक टोली खटाएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्का, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारी लगायत विभिन्न सामाजिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शिविरका अवसरमा बोल्दै वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले आफ्नै गाउँ-ठाउँमा यस्ता विशेषज्ञ सेवा पुग्दा रोगको समयमै पहिचान भई अकालमा हुने जोखिम कम हुने बताउनुभयो। त्यसैगरी नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले नागरिकको स्वास्थ्य र सरसफाइजस्ता सामाजिक काममा सधैँ क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो। सभाध्यक्ष कुमार केसीले वडावासीको उत्साहजनक सहभागिताले थप ऊर्जा मिलेको भन्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने घोषणा गर्नुभयो।
स्वास्थ्य शिविरलाई भव्य रूपमा सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, सहयोगी संस्थाहरू, स्थानीय टोल विकास संस्थाहरू तथा सहभागी वडावासीप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ। टोल टोलमै पुगेर दिइने यस्ता सेवाले न्यून आय भएका र अस्पतालसम्म पुग्न नसक्ने नागरिकहरूका लागि ठूलो राहत मिलेको स्थानीयको भनाइ छ।










