हेटौंडा। क्यानोपी नेपालले हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको “कथा बुनौँ” कार्यक्रमअन्तर्गत उत्कृष्ट कथा लेखन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। हेटौंडाका पाँचवटा विद्यालयका प्रतिभावान विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले उक्त छात्रवृत्ति प्रदान गर्नुभएको हो। विद्यार्थीहरूमा लुकेको सिर्जनात्मक क्षमताको कदर गर्दै उनीहरूको शैक्षिक यात्रामा प्रोत्साहन पुर्याउने उद्देश्यले यो छात्रवृत्ति वितरण गरिएको हो।
क्यानोपी नेपाल र हेटौंडा उपमहानगरपालिकाको संयुक्त प्रयासमा विगत दुई वर्षदेखि स्थानीय विद्यालयहरूमा “कथा बुनौँ” कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरूलाई कथा लेखन तथा कथा कथनका माध्यमबाट आफ्ना मनमा लागेका विचार, भावना र अनुभवहरू निर्धक्कसँग अभिव्यक्त गर्ने सुरक्षित तथा सिर्जनात्मक वातावरण तयार गरिदिनु हो। कार्यक्रमले विद्यार्थीहरूको लेखन शैली र तार्किक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
विगत दुई वर्षको अवधिमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न विद्यालयका कुल २६२ जना विद्यार्थीहरू यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन्। बालबालिकाको सिर्जनात्मक विकासमा यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी साबित भएको बताउँदै स्थानीय तह र आयोजक संस्थाले आगामी दिनहरूमा पनि बाल साहित्य र सिर्जनात्मक लेखन प्रवर्द्धनका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।










