जननेता मदन भण्डारी हीरक जयन्ती वर्षका अवसरमा फाउन्डेसनको २७ औँ स्थापना दिवस मनाइयो; तील कुमारी ढकाल नगदसहित सम्मानित

हेटौँडा, ५ असोज ।
जननेता मदनकुमार भण्डारीको हीरक जयन्ती वर्षभरि मनाउने अभियानअन्तर्गत मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले आज फाउन्डेसनको २७ औँ स्थापना दिवस विशेष समारोहका बीच मनाएको छ। हेटौँडामा आयोजित उक्त कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनकी योद्धा श्रीमती तील कुमारी ढकाललाई नगद रू १५,५५५ सहित ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान-२०८३’ बाट सम्मानित गरियो भने हालै भोटेकोशी बाढीका कारण ज्यान गुमाएका दिवङ्गत आत्माहरूप्रति दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली समेत अर्पण गरियो।

​समारोहका सम्मानित व्यक्तित्व तील कुमारी ढकालले निरङ्कुश पञ्चायती दमनको कठोर अवस्थामा मकवानपुरको तत्कालीन विकट क्षेत्रमा भूमिगत नेताहरूलाई आफ्नो घरमा सुरक्षित आश्रय र संरक्षण प्रदान गरी प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याउनुभएको थियो। सोही योगदानको उच्च मूल्याङ्कन गर्दै प्रमुख अतिथि बागमती प्रदेश प्रमुख माननीय दिपक प्रसाद देवकोटा तथा मदन भण्डारी हीरक जयन्ती समारोहका राष्ट्रिय संयोजक एवं प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रूपमा उहाँलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो।

​समारोहको सुरुआतमा फाउन्डेसनका उपाध्यक्ष बोलबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका सभापति एवं फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले हीरक जयन्ती वर्षभरि सञ्चालन गरिने कार्यक्रम र फाउन्डेसनको २७ औँ स्थापना दिवसको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। त्यसैगरी भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्मा र पूर्व सांसद एवं नेकपा एमालेका नेता केदार न्यौपानेले जननेता मदन भण्डारीको विचार र योगदानबारे चर्चा गर्नुभयो।

​कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवं हीरक जयन्ती समारोहका राष्ट्रिय संयोजक डोरमणि पौडेलले वर्षभरि नै हीरक जयन्तीका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले मदन भण्डारीको सिद्धान्त र विचारलाई जनस्तरसम्म पुर्‍याउनु नै हीरक जयन्ती मनाउनुको मुख्य उद्देश्य रहेको बताउनुभयो।

​त्यस्तै, प्रमुख अतिथि बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले जननेता मदन भण्डारीको दूरदर्शी विचार र सिद्धान्तले नेपाली राजनीतिलाई सही दिशा निर्देश गरेको उल्लेख गर्नुभयो। हीरक जयन्ती वर्षको यस सन्दर्भमा फाउन्डेसनको २७ औँ स्थापना दिवस मनाउँदै आन्दोलनका त्यागी योद्धालाई सम्मान गर्नु र बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको उहाँले बताउनुभयो।

​हेटौँडास्थित न्यू सङ्गम पार्टी प्यालेसमा सम्पन्न उक्त समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, बुद्धिजीवी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कुमार केसीले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.