हेटौँडा। नेपाली हिन्दू महिलाहरूको महान् धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीज देशभरका साथै मकवानपुरको हेटौँडामा पनि भव्यताका साथ मनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले भगवान् शिव र माता पार्वतीको निष्ठापूर्वक पूजा-आराधना गर्दै आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य तथा पारिवारिक सुख-समृद्धिको कामना गरेका छन्। अविवाहित युवतीहरूले भने सुयोग्य जीवनसाथी पाउने विश्वासका साथ श्रद्धापूर्वक व्रत धारण गरेका छन्।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले शिवजीलाई पतिका रूपमा पाउन घोर तपस्या गरेकी थिइन्। पार्वतीको तपस्यालाई पूर्णता दिन उनका सखीहरूले पिताको इच्छाविपरीत उनलाई सुरक्षित स्थानमा हरण गरेर लुकाएका थिए। सखीहरूद्वारा हरण गरिएकाले यस पर्वको नाम ‘हरितालिका’ रहन गएको हो। अर्को प्रसङ्गअनुसार, विष्णु (हरि) ले बताएको पूजा-विधान र तालिका अनुसार कठोर व्रत बसी पार्वतीले शिवजीलाई प्राप्त गरेकाले पनि यसलाई हरितालिका भनिएको विश्वास छ।
तीज मनाउने क्रममा अघिल्लो राति मिठा-मिठा परिकारका साथ ‘दर’ खाने परम्परा छ। तृतीयाका दिन महिलाहरू निराहार र निर्जला रहेर मन्दिर परिसर तथा जलासयहरूमा पूजा-अर्चना गर्छन्। तीजको यो उत्सव चतुर्थीका दिन विघ्नहर्ता गणेशको आराधना र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको विधिवत् पूजा गरेपछि मात्र समापन हुने गर्छ। ऋषिपञ्चमीमा ३६५ वटा दत्तिउनले दन्तधावन गरी स्नान गर्नाले अन्जानमा भएका त्रुटिहरूबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।
यसै सन्दर्भमा, हेटौँडा उपमहानगरपालिका-४ स्थित हुप्राचौरमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिर प्राङ्गणमा आज बिहानैदेखि श्रद्धालु महिलाहरूको अभूतपूर्व घुइँचो र चहलपहल देखिएको छ। रातो, हरियो र पहेँलो पोशाकसँगै परम्परागत गहनामा सजिएका महिला दिदीबहिनीहरू हातमा पूजाका थाली बोकेर लाइनबद्ध भई भगवान् शिवको दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजा-आजाका साथै तीजका मौलिक गीतमा सामूहिक रूपमा नाचगान गर्दै महिलाहरूले आफ्ना सुख-दुःख र वेदनाहरू साटासाट गरिरहेका छन्।
धार्मिक आस्थासँगै तीजको सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै गहिरो छ। वर्षभरि घरायसी काममा व्यस्त रहने महिलाहरूलाई यो पर्वले माइत जाने, साथीसङ्गीसँग भेटघाट गर्ने र आफ्ना पीरमर्काहरू गीतका माध्यमबाट अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्छ। यसले महिला सशक्तीकरण, सामाजिक सद्भाव र पारिवारिक आत्मीयतालाई अझ मजबुत बनाउन ठूलो भूमिका खेलेको छ।
तथापि, पछिल्लो समय तीजका नाममा भड्किलो पोशाक, गहनाको प्रदर्शन र उच्छृङ्खल शैलीका गीत-संगीतको प्रयोगजस्ता विकृतिहरू पनि भित्रिन थालेका छन्। हाम्रा मौलिक परम्परा, सांस्कृतिक मूल्य र धार्मिक आस्थालाई जीवन्त राख्न यस्ता आडम्बरहरूलाई हटाउँदै तीजलाई स्वच्छ, सभ्य र मर्यादित ढङ्गले मनाउनु आजको आवश्यकता बनेको छ।










