हेटौँडा २ बाट बाढीपीडितका लागि साढे तीन लाखभन्दा बढी राहत रकम र जिन्सी सामग्री हस्तान्तरण

हेटौँडा। गत असोज १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनर्मार्गका लागि हेटौँडा उपमहानगरपालिका वडा नं. २ ले नगद तथा जिन्सी सामग्री संकलन गरी हस्तान्तरण गरेको छ। वडाभित्रका विभिन्न टोल विकास संस्था, संघ-संस्था तथा जनप्रतिनिधिहरूको सहकार्यमा संकलित उक्त राहत रकम र सामग्री आज जिल्ला प्रशासन कार्यालय मार्फत हस्तान्तरण गरिएको हो।

​बाढीबाट प्रभावित व्यक्तिहरूलाई तत्काल राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत तथा पुनर्स्थापना कोष’ का लागि जम्मा रु. ३,५१,२२९ (तीन लाख एकाउन्न हजार दुई सय उनन्तीस रुपैयाँ) रकम हस्तान्तरण गरिएको हो। वडा कार्यालयको संयोजनमा संकलित सो रकमको आधिकारिक विवरण जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई बुझाइएको छ।

​उक्त राहत रकम हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, जनप्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू तथा विभिन्न बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले संकटको समयमा स्थानीय तह र समुदायले देखाएको यो ऐक्यबद्धताको प्रशंसा गर्नुभयो।

​नगद रकमका अतिरिक्त वडा नं. २ बाट जिन्सी सामग्री समेत संकलन गरी हस्तान्तरण गरिएको छ। ‘रिभाइब्वल युथ क्लब’ लगायतका संस्थाहरूको सहयोगमा ९३ थान कुर्ता-सुरुवाल, ९३ थान जुत्ता-चप्पल र १६ कार्टुन सेनेटरी प्याड जस्ता अत्यावश्यक जिन्सी सामग्रीहरू पीडितहरूसम्म पुर्‍याउन हस्तान्तरण गरिएको हो।

​विपदको यस घडीमा वडा भित्रका विजय शान्ति, मिलिजुली, सिद्धार्थ, सृजनशील, नयाँ मनकामना, पुरानो मकवानपुर, हरीकुञ्ज, चाँदनी, प्रगतिशील, देवीपथ, सिद्धिविनायक, सशक्त, श्रेष्ठ र जागरुक टोल विकास संस्थाहरूका साथै वडा अध्यक्ष र वडा सदस्य सुरज बर्तौला लगायतका व्यक्तिहरूले आर्थिक सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.