रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण घरबारविहीन तथा विस्थापित बनेका रसुवाको उत्तरगया गाउँपालिकाका २५० पीडित परिवारका लागि बृहत् राहत सामग्री हस्तान्तरण गरिएको छ। बाढीले तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सङ्कटमा परेका परिवारको तत्काल आवश्यकता पूर्ति गर्न गाउँपालिकाको विशेष अनुरोधमा यो सहयोग जुटाइएको हो।
जर्मन संस्था ‘LiScha Himalaya e.V.’ को आर्थिक सहयोग तथा ‘दिगो विकासका लागि एकता नेपाल’ को व्यवस्थापनमा प्रभावित बस्तीहरूका लागि खाद्यान्न तथा गैर-खाद्यान्न राहत सामग्रीको जोहो गरिएको हो। बाढीपछि दैनिक उपभोग्य वस्तु र आश्रयको चरम अभाव झेलिरहेका स्थानीयलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले संस्थाले पूर्ण प्याकेज तयार पारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
राहत प्याकेजमा खाद्यान्नका साथै दैनिक सरसफाइ र जीवन उपयोगी सामग्रीहरू समेटिएका छन्। जसअन्तर्गत चामल, मसुरोको दाल, चिउरा, चना, नुन, खाने तेल, बेसार, मसला, मस्यौरा र सखर जस्ता पोषणयुक्त खाद्य वस्तुहरू छन्। यसबाहेक पकाउने तथा खाने भाँडाकुँडा, बाल्टिन, साबुन, मन्जन, ब्रस, सेनेटरी प्याड, पोर्टेबल सोलार सेट, टर्च लाइट, जीवनजल र ब्ल्याङ्केट/पछ्यौरा समेत वितरणका लागि पठाइएको छ।
विपद्को समयमा सबैभन्दा बढी जोखिममा पर्ने ५० जना सुत्केरी आमा तथा शिशुहरूलाई लक्षित गरी छुट्टै विशेष राहत प्याकेजको व्यवस्था गरिएको छ। दिगो विकासका लागि एकता नेपालका परियोजना व्यवस्थापक अनिल पौडेलका अनुसार नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै ल्याक्टोजिन दूध, सुत्केरी गाउन, फलाटिनको कपडा, ज्वानो, मेथी र चामलको पिठो जस्ता अत्यावश्यक र पौष्टिक सामग्रीहरू समावेश गरी विशेष प्याकेज बनाइएको हो।
प्राप्त सम्पूर्ण राहत सामग्रीहरू कुनै पनि दुरुपयोग हुन नदिई वास्तविक बाढीपीडितको हातसम्म पुर्याउने प्रतिबद्धता स्थानीय सरकारका तर्फबाट व्यक्त गरिएको छ। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले दाता र व्यवस्थापक संस्थाप्रति आभार प्रकट गर्दै प्रभावित परिवारसम्म सामग्रीको वितरण प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष, प्रभावकारी र पारदर्शी बनाइने आश्वस्त पार्नुभयो।










