हेटौँडा । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोशल साइन्सेस (HSM) ले रसुवाको भोटेकोशी बाढीपीडितका लागि घोषणा गरेको २० लाख रुपैयाँ सहयोग रकम आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित एक कार्यक्रमका बीच HSM का सञ्चालक पुरनबहादुर जोशीसहितको टोलीले उक्त रकमको चेक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो, जुन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।
HSM संस्थाका तर्फबाट १५ लाख रुपैयाँ र कलेजका शिक्षक तथा कर्मचारीहरूतर्फबाट स्वस्फूर्त रूपमा सङ्कलन गरिएको ५ लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याएपछि संस्थाले यो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
चेक हस्तान्तरण कार्यक्रममा HSM का सञ्चालक पुरनबहादुर जोशी, शिक्षक तथा कर्मचारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सङ्कटको यो घडीमा घोषित रकम समयमै हस्तान्तरण गरी बाढीपीडितसम्म पुर्याउन अग्रसरता देखाएकोमा जिल्ला प्रशासन कार्यालयले HSM परिवारलाई धन्यवाद व्यक्त गरेको छ।
HSM ले यो आर्थिक योगदानमार्फत प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको खोज-उद्धारको कामना गरेको छ। बाढीले घरबारविहीन भएका नागरिकको स्थायी पुनर्स्थापना र ध्वस्त संरचनाको पुनर्निर्माणका लागि राज्यका निकायहरूसँगै निजी तथा शैक्षिक क्षेत्रको निरन्तर सहकार्य आवश्यक रहेको सञ्चालक जोशीले बताउनुभयो।










