बालबालिकामा मौलाउँदै सामाजिक उत्तरदायित्व: खाजा खर्च कटाएर बाढीपीडितलाई वंशगोपालका विद्यार्थीको सहयोग

हेटौँडा । विपद्को समयमा सहयोग गर्न ठूलै धनराशी वा ठूलो उमेर हुनुपर्दैन भन्ने राम्रो उदाहरण हेटौँडाका बालबालिकाहरूले प्रस्तुत गरेका छन्। हेटौँडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नै खाजा खर्च कटौती गरी संकलन गरेको रकम रसुवाका बाढीपीडित नागरिकहरूको राहतका लागि प्रदान गरेका छन्। विद्यालयको जुनियर रेडक्रस सर्कलको सक्रिय अगुवाइमा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा १४ हजार ७८५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेका हुन्।

​कक्षागत रूपमा विद्यार्थीहरूबाट संकलित उक्त रकम नेपाल बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका जुनियर रेडक्रस नायक प्रकाश पराजुलीले जानकारी दिनुभयो। आफ्नै दैनिक खाजा खर्चबाट बचाएर विपद्मा परेका दूरदराजका दाजुभाइ-दिदीबहिनीलाई सहयोग गर्ने बालबालिकाको यो निर्णयले विद्यालय परिसरमा मानवीय संवेदना र सहकार्यको वातावरण सिर्जना गरेको छ।

​सानै उमेरदेखि सामाजिक उत्तरदायित्व, दया र परोपकारको भावना जागृत गराउन यस्ता अभियानहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। कठिन परिस्थितिमा देखाएको यो मानवीय भावनाको कदर गर्दै विद्यालय परिवार तथा स्थानीय समुदायले अभियानको नेतृत्व गर्ने जुनियर रेडक्रस सर्कल र सहयोगी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद एवं बधाई व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.