काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक पल शाहले विपद्को समयमा राहत सामग्री गोदाममा थुपारेर राख्नुभन्दा आवश्यक परेका पीडितको हातमा तत्काल पुर्याउनु नै वास्तविक मानवता भएको बताएका छन्। भदौ १४ गते नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा राहत सामग्री लिएर पुगेका नायक शाहले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सेयर गर्दै विपद् व्यवस्थापनमा ढिलासुस्ती नगर्न सबैलाई आह्वान गरेका छन्।

पिचपुल र आसपासका प्रभावित क्षेत्रका करिब ४०० घरपरिवारका लागि राहत सामग्री संकलन गरेर वडाले एकैपटक वितरण गर्ने तयारी गरे तापनि, तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै आफूहरूले उपलब्ध सामग्री तुरुन्तै बाँडेको उनले स्पष्ट पारेका छन्। “हाम्रै अगाडि प्रभावित परिवारहरू सहयोगको प्रतीक्षामा हुनुहुन्थ्यो, यस्तो अवस्थामा राहत सामग्री फिर्ता लैजान वा रोकेर राख्न उचित लागेन,” शाहले लेखेका छन्।

नायक पल शाहसहितको टोलीले त्यहाँका करिब २०० घरपरिवारलाई सिरक, डसना, तन्ना र सिरानी जस्ता न्यानो ओछ्यानका सामग्री र बाँकी २०० परिवारलाई कुर्ता सेट, भित्री वस्त्र, पछ्यौरा, चाउचाउ, बिस्कुट, जीवनजल तथा महिलाहरूका लागि स्यानिटरी प्याड वितरण गरेको थियो। बाँकी नपुगेका परिवारलाई पछि आउने अन्य टोलीको सहयोगबाट पूर्ति गर्न सकिने भन्दै उनले संकटको बेला ‘प्रक्रिया’ भन्दा ‘तत्कालको राहत’ महत्त्वपूर्ण हुने तर्क प्रस्तुत गरेका छन्।

विपद्को बेला कसैलाई भोक, कसैलाई न्यानो कपडा र महिलाहरूलाई स्वास्थ्य सामग्रीको तत्काल आवश्यकता पर्ने भएकाले राहत सामग्री जहाँ छ, त्यहीँबाट छिटोभन्दा छिटो पीडितसम्म पुर्याउनुपर्नेमा शाहको जोड छ। सम्पूर्ण संघ-संस्था, सहयोगी र स्थानीय निकायलाई आग्रह गर्दै उनले भनेका छन्, “विपद्को समयमा हाम्रो साझा प्राथमिकता जस वा श्रेय लिने होइन, मानवता र समयमै सहयोग हुनुपर्छ।”












