रसुवा बाढी: बागमती प्रदेश सरकारको द्रुत अग्रसरता, काठमाडौंका प्रमुख अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रतर्फ

काठमाडौं । बुधबार बिहान उत्तरी रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले व्यापक क्षति पुर्‍याएपछि प्रभावित नागरिकको उपचार र उद्धारका लागि बागमती प्रदेश सरकारले द्रुत कदम चालेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रत्यक्ष नेतृत्वमा काठमाडौ उपत्यकाका प्रमुख अस्पतालहरूबाट विशेषज्ञ चिकित्सकसहितको ‘इमर्जेन्सी मेडिकल टिम’ (EMT) बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।

​बाढीका कारण घाइते भएकाहरूको तत्काल उपचार र उद्धारलाई सहज बनाउन भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रबाराही अस्पतालबाट विशेष टोली खटाइएको छ। मुख्यमन्त्री थापाकै नेतृत्वमा भक्तपुर अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, स्टाफ नर्स संगीता प्याकुरेल, हेल्थ असिस्टेन्ट अलिसा पोटरेल र आईटी इन्जिनियर दीपेश खड्का समेटिएको टोली रसुवा प्रस्थान गरेको छ।

​त्यसैगरी, नुवाकोटको त्रिशूली आसपासका क्षेत्रमा उपचार सेवा प्रदान गर्न टोखा चण्डेश्वरी अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लक्षण खड्काको कमान्डमा टोली परिचालन गरिएको छ। उक्त टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश वर्मा, एनेस्थेसिया सहायक संगीता छत्कुली, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना, औषधि व्यवस्थापनका लागि स्टोर किपर लीला बहादुर श्रेष्ठ र सवारी चालक उत्तर कुमार गुरुङ रहेका छन्।

​घाइतेहरूको सम्भावित शल्यक्रिया र जटिल उपचारलाई ध्यानमा राख्दै बज्रबाराही अस्पतालले पनि विशेषज्ञ टोली खटाएको छ। हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कसिन नेपालीको नेतृत्वमा खटिएको उक्त टोलीमा मेडिकल अधिकृत डा. अयुष जंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स संडिला महत सहभागी छन्। यी सबै स्वास्थ्य टोलीहरू औषधि तथा आवश्यक आपत्कालीन स्वास्थ्य सामग्रीसहित बाढी प्रभावित र उद्धारस्थलतर्फ केन्द्रित भएका छन्।

​उता, नेपाली सेनाले पनि प्रभावित क्षेत्रमा हवाई उद्धार कार्यलाई तीव्र बनाएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार टिमुरे र स्याफ्रुबेंसी क्षेत्रबाट हालसम्म घाइते तथा जोखिममा परेका नागरिकहरूको हेलिकप्टर र बास्केटमार्फत उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ। उद्धारका लागि सेनाका ६ वटा हेलिकप्टर र ३ वटा ड्रोन प्रयोग भइरहेका छन् भने छाउनीस्थित सैनिक अस्पतालबाट २० जनाको अर्को मेडिकल टोली त्रिशूलीमा तयारी अवस्थामा राखिएको छ।

​विशेषज्ञहरूका अनुसार भोटेकोशीमा आएको यो अभूतपूर्व बाढी चीनतर्फको ल्हेन्दे खोला माथि रहेका हिमताल विस्फोट (GLOF) वा हिमपहिरोका कारण आएको अनुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् प्रा. डा. रञ्जनकुमार दाहालले ठूलो मात्रामा पानीको बहाव आएकाले ताल फुटेकै कारण यति ठूलो विध्वंश भएको बताएका छन्। हाल नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र बाढीको जोखिम अझै कायमै रहेकाले सुरक्षित रहन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.