हेटौँडा, ८ भाद्र — देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन प्रणालीको सुधारका लागि अब नयाँ पुस्ताका युवाहरूको पहुँच र निर्णय प्रक्रियामा नेतृत्वदायी भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। गैरसरकारी संस्था महासङ्घ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा हेटौँडामा सम्पन्न ‘सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया र राजनीतिक तथा शासकीय संयन्त्रमा युवा सहभागिता’ विषयक प्रदेशस्तरीय अन्तरपुस्ता सरोकारवाला संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले युवा वर्गको सक्रियतामा विशेष जोड दिएका हुन्।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमको पहिलो चरणमा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सचिव नरेश कुमार श्रेष्ठले PowerPoint Presentation गर्नुभएको थियो। उहाँले आफ्नो प्रिजेन्टेसनमार्फत राजनीतिक दल, निर्वाचन प्रक्रिया र शासकीय संयन्त्रमा युवाहरूको उपस्थिति किन र कसरी बढाउने भन्नेबारे विश्लेषणात्मक तथ्यहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो चरणमा युवा र सुशासनका विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो। महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाको सभाध्यक्षतामा भएको उक्त प्यानल डिस्कसनमा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं, हेटौँडा क्याम्पसका सहप्राध्यापक एवं सामाजिक अभियन्ता अर्पण पराजुली तथा युवा अभियन्ता एवं अधिवक्ता विशभ अधिकारीले प्यानलिस्टको रूपमा विचार व्यक्त गर्नुभएको थियो। पत्रकार रामकुमार एलनले सहजीकरण गर्नुभएको प्यानल छलफलमा युवा पुस्ताको क्षमता र नयाँ दृष्टिकोणलाई शासकीय सुधारमा उपयोग गर्नुपर्नेमा जोड दिइयो।
यसैगरी, कार्यक्रममा महासङ्घ बागमती प्रदेश समितिकी निवर्तमान अध्यक्ष आरती पाठक र गैरसरकारी संस्था महासङ्घ जिल्ला समिति मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले युवाहरूलाई केवल दर्शकका रूपमा नभई नीति निर्माण र निर्णय प्रक्रियाको अग्रपङ्क्तिमा ल्याउन अन्तरपुस्ता संवादलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
युरोपियन युनियनको सहयोगमा सम्पन्न सो कार्यक्रमको अध्यक्षीय मन्तव्य राख्दै गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्माले संवादबाट प्राप्त सुझावहरूलाई नीतिगत सुधारका लागि सम्बन्धित निकायमा पुर्याइने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा युवा प्रतिनिधि, सामाजिक अभियन्ता, कानुन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।










