हेटौँडा, मकवानपुर ।
बाराको जीतपुरसिमरा–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बर्बर हत्याको विरोध र मृत आत्माको शान्तिका लागि हेटौँडा–९ स्थित पशुपतिनगर हेल्थ क्लब (जुम्बा परिवार) ले विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार बेलुका ५ बजे हेटौँडाको H i D (हनुमान) गेट अगाडि आयोजित उक्त कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

अमानवीय एवम् जघन्य अपराधविरुद्ध सामाजिक उत्तरदायित्व बोध गर्दै जुम्बा परिवारका सदस्यहरू संस्थाको पहिचान स्वरूप पहेँलो जर्सीमा उपस्थित भएका थिए। सहभागीहरूले हातमा मैनबत्ती बालेर दिवंगत बालिका गरिमाको आत्माको चिर शान्तिको कामना गरेका थिए। दीप प्रज्वलन गर्दै उनीहरूले आगामी दिनमा कुनै पनि महिला तथा बालबालिकामाथि यस्ता क्रूर र अमानवीय घटना नदोहोरिऊन् भन्दै दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका छन्।
कार्यक्रमका बारेमा जानकारी दिँदै पशुपतिनगर हेल्थ क्लबका कार्यवाहक अध्यक्ष प्रेम प्रसाद बोलखेले यो केवल जुम्बा परिवारको औपचारिकता मात्र नभएर अकालमा ज्यान गुमाएकी अबोध बालिकाप्रतिको आत्मिक संवेदना र न्यायको पुकार भएको बताए। खेलकुद र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको संस्थाले समाजमा घट्ने यस्ता गम्भीर अपराधविरुद्ध मौन बस्न नसकिने भन्दै न्यायका लागि खबरदारी गर्न सडकमा उत्रिएको स्पष्ट पारेका छन्।
उता, घटनाको विरोधमा देशव्यापी आक्रोश चुलिएपछि गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति भई प्रतिबद्धता-पत्रमा हस्ताक्षर भइसकेको छ। गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोबिता गौतमसहितका मन्त्रीहरू र पीडित बालिकाका बुबा मनोज कुमार चौधरी तथा आमा भानमती चौधरीबीच भएको सहमतिअनुसार जघन्य अपराधसम्बन्धी कानुन पुनरावलोकन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न ७ सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने, शालिक निर्माण गर्ने र परिवारको रीतिरिवाज अनुसार अन्त्येष्टि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले औपचारिक रूपमा प्रतिबद्धता-पत्र जारी गरिसकेको अवस्थामा जुम्बा परिवारले उक्त सम्झौता केवल कागजमा मात्र सीमित नहोस् भन्दै सरकारलाई खबरदारी गरेको छ। हेटौँडाका नागरिक समाज र जुम्बा परिवारले गृहमन्त्री तथा कानुनमन्त्रीले गरेको प्रतिबद्धता अक्षरांश पालना हुनुपर्ने, दोषीलाई हदैसम्मको सजाय दिइनुपर्ने र अनुसन्धानमा लापरबाही गर्ने अधिकारीहरूमाथि कडा कारबाही हुनुपर्ने जोडदार माग राखेका छन्।










