जनताका मुद्दा र पार्टी सुदृढीकरणलाई लिएर एमालेको ‘जागरण अभियान’: हेटौंडाबाट नयाँ सन्देश

हेटौंडा ।
नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीले वर्तमान सरकारका गतिविधि, सुकुम्बासी तथा गरिब जनतामाथि भएका ‘दुःख र भ्रम’लाई चिर्दै जनतामाझ जाने नयाँ रणनीति तय गरेको छ। शुक्रबार हेटौंडा–४ स्थित पार्टी कार्यालयको सभाहलमा आयोजित विशेष ‘पार्टी जागरण अभियान तथा अभिमुखीकरण कार्यक्रम’मार्फत एमालेले स्थानीय तहदेखि नै सांगठनिक सुदृढीकरण र राजनीतिक घेराबन्दी तोड्ने उद्घोष गरेको हो।

​कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव महेश बस्नेतले वर्तमान सरकारका गलत नीति र सुकुम्बासी तथा विपन्न वर्गले भोग्नुपरेका समस्यालाई प्रमुख राजनीतिक मुद्दा बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। सरकारले छरेका भ्रमहरूलाई चिर्दै जनताको वास्तविक अधिकारका लागि एमाले नेता-कार्यकर्ताहरू सिधै घरदैलोमा पुग्नुपर्नेमा उहाँको जोड थियो।

​पार्टीलाई तल्लो तहसम्म थप प्रभावकारी र सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा नेता-कार्यकर्ताबीचको समन्वय, समसामयिक राजनीतिक परिस्थिति र एमालेको आगामी भूमिकाबारे गहन छलफल भएको छ। सो क्रममा केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पावर पोइन्ट प्रस्तुतिका माध्यमबाट जागरण अभियानका उद्देश्य, आगामी कार्ययोजना र प्राविधिक पक्षबारे विस्तृत खाका प्रस्तुत गर्नुभएको थियो।

​हेटौंडा उपमहानगर कमिटीका उपाध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा भएको उक्त अभिमुखीकरणमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू एकलाल श्रेष्ठ र भारती पाठक, प्रदेश सभा सदस्यहरू रामचन्द्र राई र सुमित्रा काफ्ले, तथा जिल्ला कार्यवाहक अध्यक्ष हिदम लामा लगायतका शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना, प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमले एमाले हेटौंडा उपमहानगर कमिटीलाई आगामी राजनीतिक यात्राका लागि थप ऊर्जा र स्पष्ट दिशा निर्देश गरेको सहभागी नेताहरूले बताएका छन्। एमालेले यो जागरण अभियानलाई उपमहानगरका सबै वडा र बस्तीसम्म आक्रामक रूपमा लैजाने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.