भदौ ४, हेटौँडा/बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको विरोधमा मकवानपुरको हेटौँडास्थित चन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरू आक्रोशित बन्दै सडकमा उत्रिएका छन्। अबोध बालिकामाथि भएको क्रूर र अमानवीय घटनाका दोषीलाई फाँसीको सजाय दिनुपर्ने र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गर्दै विद्यालयका विद्यार्थी र शिक्षकहरूले हेटौँडामा विरोध र्याली निकालेका हुन्।
‘बलात्कारीलाई फाँसी दे’, ‘गरिमा चौधरीलाई न्याय दे’ र ‘बालबालिकाको सुरक्षा सुनिश्चित गर’ जस्ता गगनभेदी नारा लगाउँदै निस्किएको उक्त र्यालीले हेटौँडा ८ कमानेको विभिन्न भागको परिक्रमा गरेको थियो। विद्यालय परिसरबाट सुरु भएको र्यालीमा सहभागी विद्यार्थीहरूले पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै दोषीमाथि हदैसम्मको कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
उता बारामा भने प्रहरी प्रशासनले राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको सहमतिलाई मृतकका परिवारले स्पष्ट रूपमा अस्वीकार गरिदिएका छन्। बालिका हराएको जानकारी दिँदासमेत इलाका प्रहरी कार्यालय सिमराले खोजीमा गम्भीरता नदेखाएको आरोप लगाउँदै मृतकका बुबा मनोज चौधरीले आफूहरूलाई थाहै नदिई गरिएको सहमति मान्य नहुने बताएका छन्। उनले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयम् उपस्थित भई कानुन संशोधनको प्रतिबद्धता जनाउनुपर्ने अडान राखेपछि तेस्रो दिन पनि वीरगञ्ज–पथलैया सडक खण्ड पूर्ण रूपमा ठप्प छ।
घटनालाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गर्दै पठनपाठन बन्द गरेका छन्। स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीमाथि कारबाहीको माग गर्दै कार्यालय घेराउ गरेका छन् भने ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन जारी राखेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दोषी पक्राउ परिसकेको र प्रहरीको लापरबाहीबारे छानबिन भइरहेको बताए पनि सर्वसाधारणको आक्रोश मत्थर हुन सकेको छैन।
यसैबीच, गरिमाको न्यायका लागि काठमाडौँको माइतीघरमा पनि भव्य प्रदर्शन भएको छ। ‘गरिमा चौधरीलाई न्याय दे’, ‘महिला बालबालिका आयोग कहाँ छ?’ जस्ता प्लेकार्डसहित सर्वसाधारण र अधिकारकर्मीहरू प्रदर्शनमा उत्रिएका छन्। तीन वर्षीया अबोध बालिकाको हत्याले देशव्यापी रूपमा आक्रोशको माहोल सिर्जना गरेको छ भने हेटौँडादेखि काठमाडौँसम्म न्यायको आवाज थप सशक्त बन्दै गएको छ।










