हेटौंडा ११ मा रेडक्रसको डेंगु सचेतना तथा लार्भा नष्ट अभियान तीव्र

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजना तथा नवलपुर उपशाखा हेटौंडा-११ को समन्वय र सञ्चालनमा सोमबार हेटौंडा-११ मा वृहत डेंगु सचेतना तथा लार्भा खोजी नष्ट अभियान सम्पन्न भएको छ । गर्मी र बर्सातको मौसमसँगै डेंगु संक्रमणको जोखिम बढेको महसुस गरी समुदाय स्तरमा सचेतना फैलाउन र लामखुट्टेको प्रजनन् स्थल नष्ट गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

​नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको पहलमा आयोजित यस कार्यक्रममा नवलपुर उपशाखाका स्वयंसेवक, स्थानीय जनप्रतिनिधि र समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो । ‘डेंगु सचेतना तथा लार्भा खोजी नष्ट कार्यक्रम’ अंकित ब्यानर सहित सुरु भएको र्‍यालीले हेटौंडा-११ का विभिन्न टोल तथा बस्तीहरूको परिक्रमा गरी सर्वसाधारणलाई सचेत गराएको थियो । र्‍यालीमा सहभागीहरूले डेंगुको लक्षण, बच्ने उपाय र घर वरपर सरसफाई राख्नुपर्ने आवश्यकता बारे जानकारी दिइएको थियो ।

​अभियानका क्रममा स्वयंसेवकहरू र्‍यालीमा मात्र सीमित नरही घर-घरमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यमा सक्रियताका साथ खटिएका थिए । उनीहरूले घरका कम्पाउण्ड, छत, कौसी र वरपर जमेको पानी, पुराना टायर, टिनका डब्बा, गमला, फुलदानी तथा पानी जम्ने अन्य सम्भावित ठाउँहरूको निरीक्षण गरी लामखुट्टेको लार्भा भेटिएमा सो नष्ट गरेका थिए । साथै, समुदायका सदस्यहरूलाई आफ्नो घर र वरपर जमेको पानी नियमित रूपमा हटाउन र सरसफाई गर्न उत्प्रेरित गरेका थिए ।

​नेपाल रेडक्रस सोसाइटी नवलपुर उप-शाखाका सचिव अन्जनप्रसाद पौडेलका अनुसार, विशेषगरी वर्षायाम र गर्मीमा लामखुट्टेको वृद्धि तीव्र हुने भएकाले डेंगुको जोखिम निकै बढेको छ । यस जोखिमलाई न्यूनीकरण गर्न र समुदायलाई डेंगुबाट जोगाउन यो अभियान सञ्चालन गरिएको हो । सचिव पौडेलले यस्ता सचेतनामूलक र लार्भा नष्ट अभियान हेटौंडा उपमहानगरपालिकाका अन्य वडाहरूमा पनि नेपाल रेडक्रस सोसाइटी मकवानपुरले निरन्तरता दिँदै आएको र दिने जानकारी समेत दिनुभयो । यो अभियानले समुदायलाई डेंगु प्रति थप सजग र जिम्मेवार बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.