हेटौँडा। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक मंगलबार बिहान ११ बजे हेटौँडामा बस्ने भएको छ। प्रदेश सभामा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दलको नेतृत्व र नयाँ सरकार गठनका विषयमा छलफल गर्न यो बैठक आह्वान गरिएको हो।
बैठकको मुख्य कार्यसूची संसदीय दलका नेता जगन्नाथ थपलियामाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्नु रहेको छ। गत बुधबार एमालेका १६ जना प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालय र संसदीय दलको कार्यालयमा दलका नेता थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
दर्ता गरिएको अविश्वासको प्रस्तावमा पूर्वस्वास्थ्य मन्त्री किरण थापा मगरलाई संसदीय दलको नयाँ नेता बनाउने प्रस्ताव गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बमोजिम दर्ता भएको उक्त प्रस्तावमार्फत एमालेले शीर्ष तहको निर्णयअनुसार संसदीय दलको नेता परिवर्तन गर्ने तयारी गरेको छ।
अर्कोतर्फ, संसदीय दलका वर्तमान नेता थपलियाले भने आफूविरुद्ध परेको अविश्वासको प्रस्तावलाई लोकतान्त्रिक प्रक्रियाबाटै सामना गर्ने पक्षमा आफूलाई उभ्याएका छन्। मंगलबार बस्ने बैठकमा दुवै पक्षका तर्क र अविश्वासको प्रस्तावमाथि नियमानुसार छलफल हुने बताइएको छ।
बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता साझेदारी अन्त्य गर्दै एमालेले नेकपासँग मिलेर नयाँ (वाम) सरकार गठनको तयारी गरिरहेको छ। संसदीय दलको नेतासम्बन्धी विषयलाई टुङ्गो लगाएलगत्तै एमालेले नयाँ सरकार गठनको औपचारिक प्रक्रियालाई अगाडि बढाउने कार्यसूची रहेको छ।








