हेटौँडामा एमाले सम्बद्ध जनसंगठनको आयोजनामा रक्तदान, ७३ जनाले गरे रक्तदान

हेटौँडा, ३० साउन।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरपालिका जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज हेटौँडा–१ स्थित रक्त सञ्चार केन्द्रमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा हाल देखा परेको रगतको चरम अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ७३ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।

​कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष एवं नेकपा एमाले हेटौँडा उपमहानगरपालिका जनसंगठन समन्वय संयन्त्रका संयोजक सुशीला मल्लले भूकम्प, कोरोना महामारी वा अन्य जुनसुकै विपद् र संकटको समयमा एमाले र यसका जनसंगठनहरू सदैव अग्रपंक्तिमा रहेर जनसेवामा खट्दै आएको स्मरण गराउनुभयो। सोही परम्परा र सामाजिक दायित्वलाई निरन्तरता दिँदै अहिलेको रगत अभावको संकट समाधानका लागि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

​कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य रामेश्वर रानाले जनताको भावना र आवश्यकता अनुसार सधैं मैदानमा खटिनु नै एमाले र यसका भ्रातृ संगठनहरूको मुख्य मर्म रहेको बताउनुभयो। मन्तव्यका क्रममा उहाँले जनताको सेवा नै पार्टीको सबैभन्दा ठूलो मान्यता भएकाले अन्य जनसंगठन तथा पार्टी कमिटीहरूले पनि यही मर्मलाई आत्मसात् गर्दै जनकेन्द्रित काममा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो।

​जनसंगठन समन्वय संयन्त्रका सचिव सुरेश बेरोजगारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि रामेश्वर रानाका साथै पूर्व केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय लेखा आयोग सदस्य नविन सिग्देल, प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलाल सदस्यहरु गोपाल ब. श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ, रामचन्द्र राई तथा जिल्ला कमिटी कार्यबाहक अध्यक्ष हिदम लामा सचिव सिता विष्ट उपसचिवहरु आरती पाठक र फुर्बादोर्जे लामा हेटौडा उपमहानगरपालिका कमिटी अध्यक्ष बलबहादुर कार्की लागायत नेताहरूको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा जनप्रतिनिधिहरूको तर्फबाट हेटौँडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुशील घिमिरे, वडा नं. ११ की वडा अध्यक्ष जुना दाहाल र वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तान लगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.