साम्प्रदायिक सहिष्णुता जोगाउन मकवानपुर प्रशासनको सक्रियता: हेटौँडामा बृहत् सद्भाव र्‍याली हुँदै

सुनसरी र सिराहा जिल्लामा हालै घटेका दुःखद घटना र त्यसपछि विभिन्न ठाउँमा देखिएका प्रदर्शनका कारण उत्पन्न हुन सक्ने सम्भावित मुठभेड तथा असन्तुलनलाई ध्यानमा राख्दै मकवानपुर प्रशासनले पूर्वसावधानी अपनाएको छ। जिल्लामा धार्मिक, जातीय तथा सामाजिक द्वन्द्व फैलन नदिन र आपसी भाइचारा एवं सहिष्णुता जोगाइराख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बृहत् ‘सामाजिक सद्भाव र्‍याली’ को आयोजना गर्न लागेको हो। अन्य जिल्लाका अशान्त घटनाको नकारात्मक असर मकवानपुरमा पर्न नदिनु नै यो र्‍यालीको मुख्य उद्देश्य रहेको छ।

​कार्यालयले जारी गरेको सार्वजनिक अपिल अनुसार आगामी साउन १६ गते शनिबार अपराह्न ठीक ४:०० बजे हेटौँडा–४ स्थित हुप्राचौरमा भेला भएर सद्भाव र्‍याली सञ्चालन गरिनेछ। प्रशासनले यस अभियानलाई प्रभावकारी र सन्देशमूलक बनाउन केवल सर्वसाधारणलाई मात्र नभई जिल्लास्थित सम्पूर्ण धार्मिक सङ्घसंस्थाका अगुआ, जनप्रतिनिधि, राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाज, गैरसरकारी संस्था, टोल विकास संस्था, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूलाई समेत ऐक्यबद्धताका लागि आह्वान गरेको छ।

​सबै धर्म, संस्कृति र समुदायका मानिसहरूको व्यापक उपस्थिति गराएर जिल्लामा बलियो सामाजिक एकताको सन्देश दिने रणनीति प्रशासनले लिएको छ। जिल्लाको शान्ति सुरक्षा कायम राख्नका लागि केवल प्रशासनिक कडाइ मात्र पर्याप्त नहुने भन्दै सम्पूर्ण सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर सद्भाव र मेलमिलापको वातावरण निर्माण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.