देवानगञ्ज घटना: पीडित परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति, भोलि अन्तिम संस्कार गरिने

कप्तानगञ्ज (सुनसरी) — देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति भएको दुःखद घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार र गृह मन्त्रालयबीच बिहीबार (साउन १४ गते) ७ बुँदे सहमति भएको छ। पीडितका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै उत्पन्न तनाव साम्य हुने बाटो खुलेको छ भने भोलि साउन १५ गते दिउँसो २:०० बजे मृतकहरूको अन्तिम संस्कार गर्ने सहमति भएको छ।

​सहमति अनुसार सरकारले मृतक दुवैजनालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र प्रत्येक परिवारलाई रु. १०/१० लाख राहत रकम उपलब्ध गराउनेछ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने, स्थानीय मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयबारे तत्काल छानबिन थाल्ने र दुवै मृतक परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने प्रतिबद्धता गृह मन्त्रालयले जनाएको छ।

​यसैगरी, घटना अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गरिनेछ। स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्मृति पार्क निर्माण गर्नेसमेत सम्झौता पत्रमा उल्लेख छ। सहमतिपछि गृह मन्त्रालयले सत्य, न्याय र कानुनी शासनप्रति प्रतिबद्धता जनाउँदै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.