हेटौँडा-८, देवनगर टोल विकास संस्थाको आयोजनामा नेपाल संवत ११४७ को शुभ अवसरमा ‘नेपाल संवत ११४७ भिन्तुना कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ। देवनगर टोल विकास संस्था, हेटौँडा-८ का अध्यक्ष मदन देउलाको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री एकालाल श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ का अध्यक्ष कुमार केसी, नव दृष्टि सञ्चारकर्मी गोकर्ण तिवारी, टोल विकास वडा समन्वय समिति हेटौँडा-८ का उपाध्यक्ष भानु गौतम, नेपाली कांग्रेस ८ नम्बर वडाका सभापति लक्ष्मि श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा-८ का प्रतिनिधि हरि कोइरालालगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एकालाल श्रेष्ठले नेपाल संवत केवल नेवारी समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको मौलिक संवत भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हेटौँडाको धेरै ठाउँहरूमा यस्तो कार्यक्रमहरू भइरहेको छ र देशैभरि नेवार समुदायहरूले यो कार्यक्रम आयोजना गरिरहेका छन्। यो नेपालको मौलिक संवत हो। कतिपयले यो नेवारीहरूको मात्रै संवत भनेर बुझिरहेका छन् तर होइन, यो नेपालीहरूको नै मौलिक संवत हो। नेपाल संवतले हाम्रो भाषा, धर्म, परम्परा र नेपालीहरूको इतिहासलाई झल्काउँछ।”
प्रमुख अतिथि श्रेष्ठले नेपाल सरकारले केही समय अगाडि यसलाई आधिकारिकता प्रदान गरे तापनि अहिले खास चाडपर्वको रूपमा मात्रै लिएको धारणा राख्नुभयो। यसको संरक्षण र संवर्द्धनका लागि जोड दिँदै उहाँले थप्नुभयो, “यसको जगेर्नाको लागि, यसको मौलिकता र यसको उपादेयताको विषयमा हामीले हाम्रो आगामी पुस्ताहरूलाई बुझाउनुपर्ने र यसको विषयमा चर्चा गर्नुपर्ने आवश्यकता छ। हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो बाजागाजाहरूलाई हामीले जोगाना गर्न सक्यौँ भने मात्रै हाम्रो मौलिकता जोगिन्छ।”
औपचारिक कार्यक्रम सम्पन्न भएपछि विभिन्न बाजागाजा र सांस्कृतिक झाँकीसहित हेटौँडा ८ नम्बर वडाको परिक्रमा गरिएको थियो। ¥याली तथा परिक्रमामा स्थानीयवासीहरूको सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप रौनक र भव्यता प्रदान गरेको थियो।



















