मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा हेटौँडामा, धार्मिक सङ्घसंस्था र नगरवासीद्वारा स्वागत

हेटौँडा । श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीका पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को संकल्पमा सञ्चालित मेची–महाकाली मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा आज हेटौँडा आइपुगेको छ। मकवानपुरको प्रवेशद्वार चुरियामाईबाट हेटौँडा भित्रिएको रथयात्रालाई स्थानीय धार्मिक सङ्घसंस्था, समाजसेवी तथा आम नगरवासीहरूले अत्यन्त उत्साह र श्रद्धाका साथ स्वागत गरेका छन्।

​रथयात्रा हेटौँडा प्रवेश गरेसँगै आयोजना गरिएको मोटरसाइकल र्‍याली र झाँकीसहितको टोलीले रथलाई गोरक्षेश्वर धामसम्म पुर्‍याएको थियो। हेटौँडाको रानीदरबार अगाडिबाट सुरु भएको नगर परिक्रमामा भक्तजनहरूको सहभागिता रहेको थियो। बजार परिक्रमाका क्रममा नगरका विभिन्न स्थानमा सर्वसाधारणले मुक्तिनाथ भगवान्‌को पूजा-आराधना र दर्शन गरेका थिए।

​स्वागत कार्यक्रममा सांस्कृतिक वेद विद्यालयका बटुकहरूले वैदिक मन्त्रोच्चारण र मङ्गल धुन बजाएर वातावरणलाई पूर्ण रूपमा धार्मिक र भक्तिमय बनाएका थिए। श्रीमुक्तिनाथ रथयात्रा स्वागत तथा सहयोग समितिको व्यवस्थापनमा विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरू, उद्योगी-व्यवसायी र स्थानीय आमा समूहहरूले रथयात्रामा सहभागी भई स्वागत एवम् सेवा पुर्‍याएका हुन्।

तीन वर्षदेखि निरन्तर हेटौँडामा स्वागत गरिँदै आएको यो रथयात्राले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका साथै आपसी भाइचारा र सनातन धर्म-संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.