जिसस मकवानपुरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न: व्यक्ति विशेषका योजना प्रदेश सरकारले समावेश गर्दैन, टुक्रे बजेटको अन्त्य गरिन्छ—मुख्यमन्त्री किरण थापा

हेटौँडा, १७ कात्तिक। जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। नेपालको संविधानको धारा २२० र स्थानीय सरकार सञ्चालन ऐनको प्रावधानअनुसार नियमित चौमासिक समीक्षाका रूपमा आयोजित उक्त कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहहरूले पावरपोइन्ट प्रिजेन्टेसनमार्फत आफ्ना गतिविधि, प्रगति विवरण तथा विकास निर्माणका अभ्यासहरू प्रस्तुत गरेका छन्।

​समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अब प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पार्नुभयो। पहुँचका आधारमा योजना छनोट गर्दा अत्यधिक टुक्रे बजेट बढेको र लगानीको प्रतिफल नदेखिएको उल्लेख गर्दै उहाँले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिइने बताउनुभयो। साथै, अब ६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट नदिने र नयाँ सडकको ट्र्याक खोल्ने काम स्थानीय तहले नै गर्नुपर्ने नीतिगत निर्णय भएको उहाँले जानकारी दिनुभयो।

​प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरूको जवाफ कामबाटै दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापा मगरले प्रदेशका १३ वटै जिल्लामा सडक, खानेपानी, पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको दाबी गर्नुभयो। जिल्ला-जिल्लामा विशेषज्ञ सेवासहितका अस्पताल निर्माण हुँदा नागरिकले गाउँमै उपचार पाएको उदाहरण दिँदै उहाँले प्रचारप्रसारको कमीले प्रदेशका कामहरू ओझेलमा परेको बताउनुभयो। सङ्घ तथा प्रदेशका बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न आग्रह गर्दै उहाँले योजनाहरूको प्रभावकारी अनुगमन र गुणस्तर कायम गर्न जिल्ला समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने औँल्याउनुभयो।

​जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा मकवानपुर क्षेत्र नं. २ का सङ्घीय सांसद प्रशान्त उप्रेती, बागमती प्रदेश सभा सदस्यहरू भारती पाठक, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले सङ्घ, प्रदेश र स्थानीय तहबीचको बलियो समन्वय, सुशासन, पारदर्शिता र विकास योजनाहरूको प्रभावकारी अनुगमनमा जोड दिएका थिए।

​जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १० वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी), जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले जिल्लाभर सञ्चालित विकास योजनाहरूको समीक्षा गर्दै आगामी दिनमा तीन तहका सरकारबीच सहकार्य र अनुगमनलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.