हेटौँडा । श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीका पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को संकल्पमा सञ्चालित मेची–महाकाली मुक्तिनाथ भगवान्को दिव्य रथयात्रा आगामी कात्तिक १९ गते हेटौँडा आइपुग्ने भएको छ। रथयात्रालाई मकवानपुरको प्रवेशद्वार चुरियामाईमा भव्य स्वागत गरी हेटौँडा भित्र्याउने तयारी थालिएको छ। हेटौँडामा रथयात्राको स्वागत तथा शहर परिक्रमालाई व्यवस्थित र भव्य बनाउन दुई वटा समिति गठन गरी तयारीका कामहरू तीव्र पारिएको छ।
गत ३ वर्षदेखि निरन्तर रथयात्रालाई हेटौँडामा स्वागत गरिँदै आएकोमा यसवर्ष अझ विशेष र फराकिलो ढङ्गले आयोजना गर्न लागिएको समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए। उनका अनुसार चुरियामाईबाट मोटरसाइकल र्यालीसहित रथयात्रालाई स्वागत गर्दै गोरक्षेश्वर धामसम्म ल्याइनेछ। त्यसपछि हेटौँडाको रानीदरबार अगाडिबाट सुरु हुने बजार परिक्रमा कार्यक्रममा करिब २ हजार भक्तजनको उत्साहजनक सहभागिता गराउने लक्ष्य राखिएको छ।
रथयात्रा कार्यक्रमलाई अनुशासित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। सहसंयोजक दुर्गाप्रसाद न्यौपानेका अनुसार चुरियामाई स्वागत, मोटरसाइकल र्याली र बजार परिक्रमाका लागि छुट्छाछुट्टै टोली खटाइएको छ। हेटौँडाको मुख्य बजार क्षेत्र र गोरक्षेश्वरधाम क्षेत्रमा विशेष धार्मिक वातावरण सिर्जना गरी नगर परिक्रमा गराइने आयोजकले जनाएको छ।
श्रीमुक्तिनाथ रथयात्रा स्वागत तथा सहयोग समिति हेटौँडाको आइतबार सम्पन्न बैठकमा कार्यक्रमको स्वरूप र तयारीबारे छलफल भएको सदस्य सचिव हयग्रीव आचार्यले बताए। बैठकमा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् सहसंयोजक प्रमोदसिंह रानाभाट, केदार न्यौपाने, ईन्द्र नेपाल, रामकुमार राजभण्डारी, कुमारमणि दाहाल, महेन्द्र इटनी, रामकुमार एलन, एमपी शर्मा र अजय बानियाँलगायत स्थानीय उद्योगी, व्यवसायी तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



















