सिन्धुपाल्चोक: बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्न आफू निरन्तर लागिपर्ने बताउनुभएको छ। जुगल क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै स्थानीय जनअपेक्षाअनुसारका कामहरूलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो।
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन अभियन्ता मिलन तामाङ तथा गुम्बा गाउँस्थित ल्हालुङ्पाल होमस्टेका सञ्चालक सदस्यहरूसँग भएको विशेष भेटघाट तथा छलफलका क्रममा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो। छलफलका क्रममा जुगल गाउँपालिकाको समग्र पूर्वाधार विकास, स्थानीय नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकता तथा विभिन्न विकास निर्माणका योजनाहरूबारे गहन विचार-विमर्श भएको थियो।
भेटघाटका क्रममा क्षेत्रको भौतिक पूर्वाधार निर्माणलाई गति दिन महत्त्वपूर्ण योजनाहरूमा सहमति र छलफल भएको छ। जसमा याम्बालिङ खोला पक्की पुलको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने तथा सेवा खोला–गुम्बा खानेपानी योजनालाई बहुवर्षीय ठेक्का प्रणालीमार्फत चाँडो सम्पन्न गर्ने प्रक्रिया अघि बढाउने विषय परेका छन्। साथै, आगामी आर्थिक वर्षमा कात्तिके–गुम्बा मोटरबाटोको स्तरोन्नति गर्ने र अम्बाखर्क–तेम्बाथाङ मोटरबाटोको नयाँ ट्र्याक खोल्न आवश्यक बजेट व्यवस्थापन गर्नेबारे समेत सकारात्मक सहमति भएको छ।
यसैगरी, जुगल क्षेत्रको आर्थिक समृद्धिका लागि सडक र खानेपानी जस्ता आधारभूत पूर्वाधारका साथसाथै पर्यटन प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। स्थानीय स्तरमा पर्यटनको विकासमार्फत नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने र नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको छ। मन्त्री पौडेलले जनतासँग गरिएका वाचा पूरा गर्न प्रदेश सरकारका तर्फबाट निरन्तर पहल र आवश्यक समन्वय गर्दै अघि बढ्ने पुनः स्पष्ट पार्नुभयो।



















