हेटौंडा । विविध संस्कृति र परम्पराको सम्मान गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसले २०८३ सालका प्रमुख चाडपर्वहरूको अवसरमा एक विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक समारोहको आयोजना गरेको छ। विजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठ, इद र ल्होसारजस्ता राष्ट्रिय पर्वहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समिति सदस्य नवीन सिग्देल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरको विशिष्ट आतिथ्यता रहेको समारोहमा सहायक क्याम्पस प्रमुख डा. लिलानाथ ढुंगेल, व्यवस्थापन समिति सदस्य शिवहरि दाहाल, स्थानीय राजनीतिक नेतृत्व तथा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्ववियुका कार्यवाहक अध्यक्ष भरत मोहन देवकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले चाडपर्वहरूले समाजलाई जोड्ने पुलको काम गर्ने धारणा राख्नुभयो। सभाध्यक्ष देवकोटाले नेपालको बहुसांस्कृतिक र बहुभाषिक पहिचान नै राष्ट्रको शक्ति भएको उल्लेख गर्दै चाडपर्वहरू केवल रमाइलोका लागि मात्र नभई सामाजिक एकता, भाइचारा र एकअर्काको आस्थाप्रतिको सम्मानलाई प्रगाढ बनाउने माध्यम भएको बताउनुभयो। स्ववियुले क्याम्पसलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी सांस्कृतिक र सामाजिक चेतनाको साझा चौतारी बनाउन भूमिका खेलिरहेको र भविष्यमा पनि विद्यार्थीको क्षमता अभिवृद्धि एवम् हकहितका लागि निरन्तर खट्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो।
समारोहको मुख्य आकर्षण भने विद्यार्थीहरूका विविध सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले नेपालको विविधता झल्किने नृत्य तथा सांगीतिक कला प्रस्तुत गर्दा कार्यक्रम हल उत्सवमय बनेको थियो। विद्यार्थीहरूबीच रचनात्मकता जगाउन र आपसी सहकार्य बढाउन यस्ता सांस्कृतिक गतिविधिहरू फलदायी हुने सहभागीहरूको अनुभव थियो।
फरक-फरक जाति, भाषा र संस्कृति मान्ने विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर आयोजित यस कार्यक्रमले क्याम्पस परिसरमा जातीय तथा धार्मिक सहिष्णुताको बलियो सन्देश दिएको छ। कार्यक्रम सञ्चालक एवम् स्ववियु सदस्य नितेश भण्डारीका अनुसार यस्ता थप सामाजिक तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिनेछ।



















