हेटौँडा, असोज २९ गते।
नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ तथा विभिन्न चाडपर्वहरूको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकै अवसर पारी गत महिना रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा-१५ का तीन जना दिवङ्गत युवाका पीडित परिवारलाई नगद राहत रकम समेत हस्तान्तरण गरिएको छ।
हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका प्रमुख (मेयर) मिना कुमारी लामा र जिल्ला समन्वय समिति मकवानपुरका पूर्वप्रमुख रघुनाथ खुलाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा चुरियामाई गाउँ विकास समितिका पूर्वअध्यक्ष इन्द्रमान स्याङ्तानलगायत विभिन्न क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी एवम् स्थानीय महानुभावहरूको उपस्थिति रहेको थियो।
भोटेकोशी बाढी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय युवाहरू स्व. सुमन गोले, स्व. रमेश मगर र स्व. हिरालाल स्याङ्तानका परिवारजनको आर्थिक घाउमा मलम लगाउन वडा अध्यक्ष सुनिल मोक्तानको विशेष सक्रियतामा राहत कोष सङ्कलन गरिएको थियो। वडा कार्यालयको पहलमा स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशहरूमा रहेका स्थानीय युवाहरूबाट प्राप्त कुल रु १,६५,१०३/- (एक लाख पैँसट्ठी हजार एक सय तीन रुपैयाँ) सङ्कलन गरी तीनै पीडित परिवारलाई जनही रु ५५,०४०/- (पच्पन हजार चालिस रुपैयाँ) का दरले हस्तान्तरण गरियो।
सो क्रममा स्व. सुमन गोलेकी धर्मपत्नी रेविका गोले, स्व. रमेश मगरकी धर्मपत्नी रमिता मगर र स्व. हिरालाल स्याङ्तानकी धर्मपत्नी निर्मला स्याङ्तानलाई कार्यक्रमका अतिथिहरूले संयुत्त रूपमा उक्त राहत रकम हस्तान्तरण गर्नुभएको थियो।
भोटेकोशीको विनाशकारी बाढीमा परी अकालमै ज्यान गुमाएका युवाहरूको स्मृति र सम्मानमा हेटौँडा-१५ वडा कार्यालयले खेलकुद (वडा अध्यक्ष कप ब्याडमिन्टन) तथा सामाजिक चेतनामूलक विभिन्न कार्यक्रमहरू समेत आयोजना गर्दै आइरहेको छ। चाडपर्वको अवसरमा आयोजित यस शुभकामना आदानप्रदान कार्यक्रमले एकातिर सामाजिक भाइचारा अभिवृद्धि गरेको छ भने अर्कातर्फ विपद्मा परेका परिवारलाई राहत पुर्याएर सकारात्मक सन्देश प्रवाह गरेको छ।



















