मकवानपुर प्रहरीद्वारा २०८३ को चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक: ७२९ प्रहरी जनशक्ति परिचालन हुने

हेटौँडा। नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३’ सार्वजनिक गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालयको सभा हलमा आयोजित पत्रकार सम्मेलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम मार्फत प्रहरी प्रमुख (SP) श्यामबहादुर खत्रीले उक्त एकीकृत सुरक्षा रणनीतिको विस्तृत विवरण सार्वजनिक गर्नुभएको हो।

​सुरक्षा योजनाअन्तर्गत चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, गुण्डागर्दी तथा कालोबजारी नियन्त्रणका लागि कुल ७२९ जना प्रहरी जनशक्ति मैदानमा उतारिने भएको छ। प्रहरीले जोखिम मूल्याङ्कन, पूर्वतयारी, रोकथाम, निरन्तर निगरानी, द्रुत प्रतिक्रिया (Quick Response) र कानुनी कारबाहीको मल्टि-लेयर अवधारणा अपनाएको छ। यसका साथै बागमती प्रदेश प्रहरी कार्यालयको समन्वयमा अवैध लागूऔषध, विष्फोटक पदार्थ तथा पटाका ओसारपसार नियन्त्रण गर्न विशेष तालिमप्राप्त कुकुर टोली (Dog Sniffing) समेत प्रयोग गरिने प्रहरीले जनाएको छ।

​सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुलभ यात्राका लागि सवारी साधनमा टाइम कार्ड लागू गर्ने, मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे/लापसे) जाँचमा कडाइ गर्ने र निर्धारित भाडाभन्दा बढी असुली रोक्न कडा अनुगमन गरिनेछ। सर्वसाधारण एवं यात्रुको सुविधाका लागि रातोमाटे, बसपार्क, थानाभर्याङ, भीमफेदी, मनहरी, चौकीटोल र फापरबारी लगायतका मुख्य तथा भीडभाड हुने स्थानहरूमा नागरिक/यात्रु सहायता कक्ष (Help Desk) सञ्चालनमा ल्याइसकिएको छ। लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य हुनुपर्ने र प्रमुख नाकाहरूमा रिफ्रेसिमेन्ट र होल्डिङ सेन्टरको व्यवस्था मिलाइएको छ।

​यसका साथै राजमार्ग सुरक्षा, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, व्यापारिक केन्द्र र मठमन्दिरहरूमा सादा पोसाकमा प्रहरी टोली, मोबाइल गस्ती, पैदल गस्ती, मोटर साइकल गस्ती र कमान्ड पोष्टहरू तैनाथ रहनेछन्। आकस्मिक घटनाहरूसँग निप्टनका लागि जुनियर प्रहरी अधिकृत (जुप्रअ) को कमान्डमा २४ सै घण्टा स्ट्यान्डबाई रहने Q.R.T. टोली तैनाथ गरिएको छ। देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रमहरूलाई निश्चित समय सीमाभित्र अनुशासित रूपमा सञ्चालन गर्न र आतसबाजी वा पटाकाजन्य प्रज्वलनशील पदार्थ ओसारपसार एवं प्रयोगमा पूर्ण रोक लगाइने रणनीति प्रहरीले लिएको छ।

​बडादसैँको घटस्थापनादेखि छठ पर्वसम्म लागू हुने यो विशेष सुरक्षा योजनालाई पूर्ण रूपमा सफल बनाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्पूर्ण नगरवासी तथा जिल्लावासीमा शङ्कास्पद गतिविधि वा व्यक्ति देखिएमा प्रहरीको नि:शुल्क आपत्कालीन नम्बर १०० वा ९८५५०९०१५० र ९८५५०७९३९९ मा तुरुन्त सूचना दिएर नागरिक सहकार्य गर्न हार्दिक अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.