हेटौंडा। हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा हिन्दुहरूको महान पर्व बडा दशैँ, शुभ दीपावली, छठ लगायतका विभिन्न चाडपर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। आपसमा शुभकामना साटासाट गर्दै चाडपर्वलाई सभ्य र भ्रातृत्वपूर्ण वातावरणमा मनाउन आह्वान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल र वडा नम्बर ११ का वडा अध्यक्ष जुना दाहाल विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरू अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको शोभा बढाउनुभएको थियो।
कार्यक्रमका मन्तव्य व्यक्त गर्ने वक्ताहरूले चाडपर्वले समाजमा एकता, भ्रातृत्व र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका थिए। सो क्रममा सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल र प्रमुख अतिथि उपप्रमुख राजेश बानियाँले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। मन्तव्यका क्रममा वक्ताहरूले टोलको विकास र सुशासन कायम राख्न टोल विकास संस्थाहरूको भूमिका सराहनीय रहेको भन्दै सम्पूर्ण नगरवासीहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहालले सञ्चालन गर्नुभएको सो कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ध्रुव अधिकारीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले टोलबासी र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र नगरको समग्र विकासमा ऐक्यबद्धता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।



















