क्यान्सरसँग जुध्दै गरेकी कौशिला ब्लोनको उपचारका लागि युवा सङ्घ मकवानपुरद्वारा रु. १ लाख ३ हजार सहयोग हस्तान्तरण

हेटौँडा। राक्सिराङ  गाउँपालिका वडा नं ४ निवासी  क्यान्सर जस्तो गम्भीर रोगसँग जुधिरहेकी कौशिला ब्लोनको उपचारका लागि राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी मकवानपुरले १ लाख ३ हजार १०० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। गोपिन ब्लोनकी ममतामयी आमा कौशिलाको उपचारमा पारिवारिक आर्थिक स्थिति नाजुक भएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको थियो। सोही अपिललाई ध्यानमा राख्दै युवा सङ्घ मकवानपुरले विशेष अभियान सञ्चालन गरी विभिन्न सहयोगी दाताहरूबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरेको हो।

​युवा सङ्घ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीको सभाध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रमको सञ्चालन युवा सङ्घ मकवानपुरका सचिव सबिन लामाले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं पूर्व सांसद गोविन्दराम चेपाङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा एमाले जिल्ला कमिटी उपसचिव फुर्वादोर्जे लामा, हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तान, जिल्ला कमिटी सदस्यहरू सानु लामा, वीरेन्द्र डिसी, गोकर्ण तिवारी, शिवकुमार काशी, मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी, राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामा र हेटौँडा उपमहानगर उपसचिव शान्ता लामा लगायतको उपस्थिति रहेको थियो।

​कार्यक्रममा बोल्दै वक्ताहरू रोहन लामा, फुर्वा दोर्जे लामा र प्रमुख अतिथि गोविन्दराम चेपाङ र सभाध्यक्ष राजेश नगरकोटीले एमाले र यसको भ्रातृ सङ्गठन युवा सङ्घ सधैँ नागरिकको दुःख र पीडामा सारथि बन्दै आएको बताए। उनीहरूले जसलाई अप्ठ्यारो र विपत्ति पर्छ, उसैको साथमा विगतदेखि नै उभिँदै आएको र भविष्यमा पनि निरन्तर उभिरहने प्रतिबद्धता व्यक्त गरे।

​हस्तान्तरण कार्यक्रममा वक्ताहरूले बिरामी कौशिला ब्लोनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनहरूमा पनि सङ्गठनको तर्फबाट हुन सक्ने जुनसुकै सहयोग र साथ दिन आफूहरू सदैव तत्पर रहने स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.