हेटौँडा, १६ असोज । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा ‘फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६’ भव्यताका साथ सुरु भएको छ। वन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापनका विविध आयाममा नवीन अनुसन्धान र विचार आदान–प्रदान गर्ने उद्देश्यका साथ दुई दिवसीय सम्मेलन आयोजना गरिएको हो। क्याम्पस प्रमुख डा. यमबहादुर केसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापा मगरले वन, वातावरण र प्राकृतिक स्रोत व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक अनुसन्धानको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। शिक्षा र अनुसन्धानबाट प्राप्त ज्ञानलाई केवल सिद्धान्तमा सीमित नराखी व्यावहारिक क्षेत्रसँग जोड्नुपर्नेमा उहाँको जोड थियो। मुख्यमन्त्री थापाले प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र वातावरणीय सन्तुलन कायम गर्न अनुसन्धानमा आधारित नीति निर्माण र स्थानीयस्तरका समस्या समाधानमा युवा अनुसन्धानकर्ताको ज्ञान र सीप प्रयोग गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा ग्राजुएट विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरूले आफूले गरेका अध्ययन–अनुसन्धानहरू प्रस्तुत गर्नेछन्। प्रस्तुत अनुसन्धानहरूमाथि रचनात्मक छलफल, विचार आदान–प्रदानका साथै वरिष्ठ अनुसन्धानकर्ता तथा प्राध्यापकहरूबाट आवश्यक मार्गदर्शन प्राप्त हुने आयोजकले जनाएको छ। विश्वविद्यालयलाई ज्ञान निर्माण र नयाँ सोचको केन्द्रका रूपमा विकास गर्दै युवाहरूलाई वातावरण संरक्षणमा प्रोत्साहन गर्न यो सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ।
सम्मेलनअन्तर्गतका प्राविधिक सत्र तथा प्रस्तुतिहरू मुख्य गरी तीनवटा विषयगत क्षेत्रमा केन्द्रित रहेका छन्। जसमा ‘फरेस्ट एन्ड नेचर–बेस्ड सोलुसन्स’ (वन तथा प्रकृतिमा आधारित समाधान), ‘डिजास्टर एन्ड वाटरसेड म्यानेजमेन्ट’ (विपद् तथा जलाधार व्यवस्थापन) र ‘वाइल्डलाइफ एन्ड बायोडाइभर्सिटी कन्जर्भेसन’ (वन्यजन्तु तथा जैविक विविधता संरक्षण) रहेका छन्। उद्घाटन समारोह पश्चात् यी विषयहरूमा आधारित विभिन्न प्राविधिक सत्र, अनुसन्धान प्रस्तुति र गहन छलफलका कार्यक्रमहरू सुरु भइसकेका छन्।
उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा विशिष्ट अतिथिका रूपमा हुनुहुन्थ्यो। स्थानीय सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र सरोकारवाला निकायहरूबीचको सहकार्यले प्राकृतिक स्रोतको संरक्षण र दिगो विकासमा बलियो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार विभिन्न अनुसन्धानमूलक प्रस्तुति र प्राविधिक छलफलहरूसहित यो ग्राजुएट कन्फ्रेन्स भोलि समापन हुनेछ।










