हेटौंडा, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को शुभ अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी भएको छ। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मुख्यमन्त्री टिम र प्रमुख सचिव टिमबीच सो मैत्रीपूर्ण प्रतिस्पर्धा सम्पन्न भएको हो।
मुख्यमन्त्री किरण थापाको समेत प्रत्यक्ष सहभागिता रहेको सो रोमाञ्चक खेलमा दुवै पक्षका खेलाडीहरूले उत्कृष्ट खेल कौशल र उच्च खेल भावना प्रदर्शन गरेका थिए। जनप्रतिनिधि र प्रशासनिक उच्च अधिकारीहरू मैदानमा उत्रिएर खेलकुदप्रतिको सामीप्यता दर्साएको यस प्रतिस्पर्धात्मक भिडन्तमा प्रमुख सचिव टिमले मुख्यमन्त्री टिमलाई पराजित गर्दै जित आफ्नो पक्षमा पारेको हो।
प्रतिस्पर्धात्मक खेलमा मुख्यमन्त्री टिमका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले व्यक्तिगत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो। उहाँले आफ्नो टोलीका लागि २ गोल गर्दै खेललाई अन्तिमसम्म रोमाञ्चक बनाउन महत्त्वपूर्ण योगदान दिनुभयो। राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित यस खेलले जनप्रतिनिधि र कर्मचारीतन्त्रबीचको सम्बन्धलाई थप सुदृढ, सौहार्दपूर्ण र भाइचारा अभिवृद्धि गर्न विशेष भूमिका खेलेको छ।



















