हेटौँडा । यही भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भई प्रभावित बनेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले आर्थिक सहयोग प्रदान गरेको छ। भोटेकोशीको कटान र बाढीले रसुवाका विभिन्न बस्तीहरू उजाड बनाएको र नागरिकहरू सङ्कटमा परेको घडीमा फाउन्डेसनले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा ५१ हजार १५१ रुपैयाँ जम्मा गरी सहयोग हस्तान्तरण गरेको हो।
भोटेकोशीको बाढीपीडितहरूसम्म आधिकारिक र पारदर्शी रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकमार्फत उक्त रकम राहत कोषको खातामा जम्मा गरी सोको भौचर मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत हस्तान्तरण गरिएको छ। शीतलमहल चोकस्थित फाउन्डेसनको कार्यालयमा भेला भई टोली जिल्ला प्रशासन कार्यालय पुगेर भौचर बुझाएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलाल, प्रदेश कमिटी सदस्यहरू गोपालबहादुर श्रेष्ठ र धर्मराज बस्नेत, जिल्ला सचिव कुमार केसी, तथा जिल्ला कोषाध्यक्ष गोकर्ण तिवारीको उपस्थिति रहेको थियो। त्यसैगरी फाउन्डेसनका जिल्ला सदस्यहरू कमलकुमार विश्वकर्मा र विवस अधिकारी लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
भोटेकोशीको विनाशकारी बाढी जस्ता प्राकृतिक विपत्तिले पुर्याएको अपूरणीय क्षतिमा राज्यका संयन्त्रहरूलाई मजबुत बनाउँदै पीडितसम्म सरकारी कोषमार्फत राहत पुर्याउनु सबैको दायित्व भएको फाउन्डेसनले जनाएको छ। सङ्कटको यो समयमा ऐक्यबद्धता जनाउँदै गरिएको यस प्रयासले भोटेकोशी बाढीपीडितको पुनर्स्थापनामा सहयोग पुग्नुका साथै अन्य सङ्घसंस्थाहरूलाई पनि मद्दतमा जुट्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।










