विपद व्यवस्थापन र सद्भावमा मकवानपुरका राजनीतिक दलको अभूतपूर्व एकता: बुद्ध चोकमा सामूहिक पुष्प अर्पण गरिँदै

चीनको तिब्बत स्वायत्त क्षेत्रबाट भदौ १० गते आएको विनाशकारी रसुवा भोटेकोसी बाढीले देशका विभिन्‍न सातभन्दा बढी जिल्लाहरूमा ठूलो धनजनको क्षति पुर्‍याएपछि मकवानपुरका राजनीतिक दलहरूले दलीय धरातलभन्दा माथि उठेर अनुकरणीय एकता प्रदर्शन गरेका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लाहरूमा परेको मानवीय तथा भौतिक बज्रपातप्रति गम्भीर दुःखी हुँदै दलहरूले राज्यका सम्पूर्ण संयन्त्रलाई समन्वयात्मक, तीव्र र प्रभावकारी खोज, उद्धार तथा राहत कार्यमा जुट्न साझा अपिल गरेका छन्।

​प्राकृतिक विपदको यस कठिन घडीमा जीवन रक्षा, पुनःस्थापना र राहत पहुँचका लागि दलीय राजनीतिक खिचातानी छाडेर सामूहिक एकता र सहकार्य अपरिहार्य रहेको निष्कर्षमा यहाँका दलहरू पुगेका हुन्। बाढीका कारण बेपत्ता भएकाहरूको सकुशल खोजबिन र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दलहरूले विपदमा ज्यान गुमाएका मृतात्माहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धान्‍जली अर्पण गरेका छन्। यस घटनाले विपद व्यवस्थापनमा दलीय हातेमालोको एक नयाँ सन्देश प्रवाह गरेको छ।

​यसै सन्दर्भमा, बाढीमा ज्यान गुमाएकाहरूप्रति सामूहिक श्रद्धान्‍जली व्यक्त गर्न आगामी भाद्र २२ गते बिहान ८ बजे मकवानपुरको हेटौँडास्थित बुद्ध चोकमा विशेष ‘पुष्प अर्पण कार्यक्रम’ को आयोजना गरिएको छ। नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्‍न ७ राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्लास्थित सम्पूर्ण संघ-संस्था, सरकारी निकाय, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा उद्योग-व्यवसायीहरूलाई उक्त सामूहिक श्रद्धान्‍जली सभामा उपस्थितिका लागि हार्दिक आह्वान गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.