हेटौँडा । उत्तरी रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिर शान्ति एवं बेपत्ता र घाइतेहरूको उद्धारका लागि मकवानपुरमा विशेष अध्यात्मिक प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा अवस्थित शिच्छेन ङिङमा गुम्बाको आयोजनामा लामा गुरुहरूबाट बौद्ध परम्परा अनुसार विशेष पूजापाठ, मन्त्र पाठ तथा दीप प्रज्वलन (बत्ती बाल्ने) कार्य गरिएको हो।
गुम्बामा आयोजित उक्त प्रार्थना सभामा बाढीमा परी अकालमा ज्यान गुमाएका मृतकहरूको दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिएको थियो। साथै, अझैसम्म बेपत्ता रहेका नागरिकहरूको सकुशल तथा शीघ्र पत्ता लागोस् भन्ने कामना गर्दै लामा गुरुहरू र उपस्थित श्रद्धालुहरूले श्रद्धापूर्वक दीप प्रज्वलन गरेका थिए।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य मञ्जु भुर्तेलको विशेष अतिथ्यता रहेको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएका वडा अध्यक्ष थापाले स्वयम् दीप प्रज्वलन गरी बाढी प्रभावितहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र सद्भाव प्रकट गर्नुभएको थियो। प्राकृतिक विपद्का बेला आयोजित यस्ता प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रमले समाजमा आत्मिक सद्भाव र सकारात्मक ऊर्जा कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ










