हेटौँडा ।
नेपालको वर्तमान संवैधानिक व्यवस्था र राजनीतिमा महिलाहरूले उपभोग गरिरहेका अधिकारहरू केवल आकस्मिक उपलब्धि नभई जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को वैचारिक धरातलमा अडिएका छन्। हेटौँडा-१० स्थित टोनी हेगेन पार्कमा आइतबार आयोजित ‘जबजमा महिला अधिकार’ विषयक विचार गोष्ठीका वक्ताहरूले नेपाली महिलाको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणमा जबजले मार्गनिर्देशक सिद्धान्तको काम गरेको ठहर गरेका छन्।

मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले जननेता भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) को अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा जबजको सैद्धान्तिक पाटो र यसको समकालीन सान्दर्भिकताबारे गहन मन्थन गरियो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. शंकर उपाध्यायले मदन भण्डारीले सिद्धान्तमार्फत महिलाहरूलाई राजनीतिक, सामाजिक र आर्थिक रूपमा अधिकारसम्पन्न बनाउन अघि सार्नुभएका क्रान्तिकारी दृष्टिकोणहरूबारे प्रष्ट पार्नुभयो। सहभागीहरूले सिद्धान्तले देखाएको बाटो र वर्तमान अवस्थामा महिला अधिकारको व्यावहारिक कार्यान्वयनका चुनौतीबारे समेत चर्चा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जबजले औँल्याएकै बाटो हिँडेर आज नेपाली महिलाहरू राज्यका प्रमुख निकाय र नीति निर्माणको तहसम्म पुग्न सफल भएको दाबी गर्नुभयो। हीरक जयन्ती मूल व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका पौडेलले नेपाली राजनीतिमा महिला अधिकार सुनिश्चित हुनुमा जबजको वैचारिक योगदान अतुलनीय रहेको बताउनुभयो।

फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालका अनुसार हीरक जयन्ती वर्ष २०८३ अन्तर्गत वर्षभरि सञ्चालन गरिने १३ वटा विशेष कार्यक्रमहरूको शृङ्खलाअन्तर्गत यो दोस्रो कार्यक्रम हो। यसअघि साउन महिनामा ‘जबजमा अन्तर्निहित गतिशीलता’ विषयमा गोष्ठी सम्पन्न भइसकेको जानकारी दिँदै खुलालले जननेता भण्डारीको विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउन वर्षभरि नै रचनात्मक तथा वैचारिक गतिविधि जारी रहने स्पष्ट पार्नुभयो।

कार्यक्रम संयोजक चन्दावती पनेरुको अध्यक्षतामा सम्पन्न उक्त वैचारिक विमर्शमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, फाउन्डेसनका बागमती प्रदेश कमिटी सदस्यहरू गोपाल श्रेष्ठ र धर्म बस्नेत, एमाले केन्द्रीय लेखा समिति सदस्य नविन सिग्देललगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।











