हेटौंडा। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले हेटौंडा–१९ बासुदेवस्थित खहरेमा बगेर ज्यान गुमाएका तथा घाइते भएका बालिकाका परिवारको घरमै पुगेर जनही २५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ। शनिबार कंग्रेस मकवानपुरका प्रतिनिधिहरूले पीडित परिवारसँग प्रत्यक्ष भेट गरी आर्थिक सहयोग हस्तान्तरणका साथै समवेदना व्यक्त गरेका हुन्।
गत भदौ २ गते निर्मल माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा बासुदेवस्थित खहरे खोलामा आएको भेलले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको थियो भने एक बालिकालाई सकुशल उद्धार गरिएको थियो। घटनामा ८ वर्षीया रोसनी स्याङ्ताङ, १२ वर्षीया बिनिता ब्लोन र ११ वर्षीया सुमित्रा ब्लोनको मृत्यु भएको थियो भने १३ वर्षीया सिमा भोलन जीवितै उद्धार हुन सफल भएकी थिइन्। कंग्रेस टोलीले घाइते तथा मृतक बालिकाहरूका शोकाकुल अभिभावकहरूलाई भेटेर ढाडस दिएको थियो।
राहत रकम हस्तान्तरण गर्दै कंग्रेस मकवानपुरका सभापति बुद्ध लामाले विपद् र दुःखको यस कठिन घडीमा पीडित परिवारको पीडामा अलिकति भए पनि मलम लागोस भन्ने उद्देश्यले पार्टीका तर्फबाट ऐक्यबद्धतास्वरूप यो सहयोग गरिएको बताए। उनले नेपाली कंग्रेस सधैँ जनताको सुख-दुःखमा साथमा रहने प्रतिबद्धता जनाउँदै यस्ता दुखद घटनाहरू दोहोरिन नदिन स्थानीय तह र सरोकारवाला निकायले बालबालिकाको यात्रा सुरक्षित बनाउन ध्यान दिनुपर्नेमा जोड दिए।
विद्यालयबाट फर्किँदै गर्दा अकालमै कलिला बालबालिका गुमाउनुपर्दा बासुदेव गाउँ अझै पनि गहिरो शोकमा डुबेको छ। कंग्रेस प्रतिनिधिमण्डलको यो उपस्थिति र सहयोगले पीडित परिवारलाई केही आर्थिक सहयोग हुनुका साथै सामाजिक अभिभावकत्वको अनुभूति गराएको स्थानीय बासिन्दाहरूले बताएका छन्।










