गरिमाको न्यायका लागि हेटौँडामा नागरिक समाजको खबरदारी: शीतल महल चोकबाट बृहत् र्‍याली र प्रदर्शन

हेटौँडा, मकवानपुर ।
बाराको जीतपुरसिमरा–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको बर्बर हत्याको विरोधमा मकवानपुर नागरिक समाज अग्रपंक्तिमा आएर आन्दोलनको नेतृत्व सम्हालेको छ। अबोध बालिकामाथि भएको यस्तो अमानवीय र क्रूर अपराधविरुद्ध आवाज उठाउन र पीडित परिवारलाई न्याय दिलाउन मकवानपुर नागरिक समाजको आयोजनामा हेटौँडा–४ स्थित शीतल महल चोकबाट भव्य विरोध र्‍याली तथा ‘खबरदारी सभा’ सम्पन्न भएको छ। बेलुकी ५ बजे आयोजित उक्त र्‍यालीमा स्थानीय नागरिक, महिला अधिकारकर्मी र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले प्लेकार्डसहित ‘न्याय नपाएसम्म हाम्रो आवाज रोकिने छैन’ भन्दै राज्य र कानुनी निकायहरूलाई कडा चेतावनी दिएका छन्।

​नागरिक समाजको यस ऐक्यबद्धता र्‍यालीले हेटौँडाको आन्दोलनलाई थप सशक्त र संगठित बनाएको छ। उता बारामा भने प्रहरी प्रशासन र राजनीतिक दलहरूबीच भएको सहमतिलाई गरिमाका बुबा मनोज चौधरीले ठाडै अस्वीकार गरिदिएका छन्। बालिका हराएको समयमा प्रहरीले देखाएको असंवेदनशीलताप्रति आक्रोश व्यक्त गर्दै पीडित परिवारले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयम् उपस्थित भई कडा कानुन संशोधनको प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। स्थानीय प्रशासन र प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै वीरगञ्ज–पथलैया सडक खण्ड तेस्रो दिन पनि ठप्प पारिएको छ भने जीतपुरसिमराका शिक्षण संस्थाहरू समेत विरोध स्वरूप बन्द रहेका छन्।

​यस समाचारसँगै संलग्न भिडियोमा नागरिक समाजको र्‍याली, आक्रोश र न्यायप्रतिको अविचलित प्रतिवद्धता स्पष्ट देख्न सकिन्छ। काठमाडौँको माइतीघरदेखि हेटौँडाको सडकसम्म नागरिक समाजले नागरिक हक र बालबालिकाको सुरक्षाका लागि दबाब बढाएपछि यो विषय अब स्थानीय अपराध मात्र नरहेर देशव्यापी न्यायको आन्दोलन बनेको छ। नागरिक समाजका प्रतिनिधिहरूले दोषीलाई हदैसम्मको सजाय र अनुसन्धानमा लापरबाही गर्ने अधिकारीहरूमाथि कडा कारबाही नभएसम्म आफ्नो सडक र सदन तहको खबरदारी निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.