बासुदेव खोला दुर्घटना: पीडित परिवारको घरैमा पुगेर हेटौंडा–१५ वडाद्वारा राहत हस्तान्तरण, नानीहरूको सम्झनामा पार्क र सालिक बनाइने

हेटौंडा। हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर साना छात्राहरूको मृत्यु भएको अकल्पनीय दुर्घटनाका पीडित परिवारलाई भेट्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा युवा संघका प्रतिनिधिहरू घरमै पुगेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानले पूर्वघोषित प्रतिबद्धता अनुसार मङ्गलबार पीडित परिवारको घरमै पुगेर नगद राहत रकम हस्तान्तरण गर्नुभएको हो। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई प्रत्यक्ष भेटेर ढाडस दिँदै वडा कार्यालयको तर्फबाट मृतक तीन छात्राहरूको परिवारलाई प्रतिपरिवार नगद रु. १० हजार र घाइते छात्रालाई रु. १५ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

​राहत रकम हस्तान्तरण गर्दै हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले यस्तो सानो सहयोगले गुमेका कोमल जीवनहरूको भर्पाई गर्न नसके पनि दुःखको बेला स्थानीय सरकार अभिभावक बनेर साथमा छ भन्ने सन्देश दिन खोजिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो विपतको समयमा तपाईंहरूको परिवारमा परेको अपूरणीय क्षतिमा हामी साथै छौँ भन्ने मनसायले यहाँ आएका हौँ।” अध्यक्ष मोक्तानले हेटौंडा उपमहानगरपालिका भित्र रहेका यस्ता तमाम जोखिमपूर्ण खोला र बाटोहरू पहिचान गरी अबका दिनमा सुरक्षित पूर्वाधार निर्माणमा ध्यान पुर्‍याउनुपर्नेमा विशेष जोड दिनुभयो।

​कार्यक्रममा आफ्नो विचार राख्दै हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडाका वडा अध्यक्ष नरनाथ सुवेदीले यस्ता दर्दनाक घटना आगामी दिनमा दोहोरिन नदिन सम्पूर्ण संयन्त्र र स्थानीय तह बढी सचेत हुनुपर्ने बताउनुभयो। उहाँले अकालमा ज्यान गुमाएका अबोध नानीहरूको सम्झनालाई अमर बनाउन सालिक सहितको स्मृति पार्क निर्माण गर्ने सोच अघि सारिएको जानकारी दिनुभयो। यसले बालबालिकाको योगदान र उनीहरूको यादलाई जोगाएर राख्नुका साथै आगामी पुस्तालाई समेत सचेत गराउन मद्दत पुग्ने अध्यक्ष सुवेदीको भनाइ थियो।

​राहत तथा समवेदना कार्यक्रममा दुवै वडाका जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा १९ नं वडा अध्यक्ष नरनाथ सुवेदी, नेकपा एमालेका जिल्ला सदस्य सन्तोष चौलागाईं, सानू लामा, नरेन्द्र भण्डारी, गोकर्ण तिवारी, राक्सिराङ गाउँपालिका कमिटी अध्यक्ष रोहन लामा, र १५ नं वडाका वडा सचिव कृष्ण बहादुर क्षेत्री लगायतको उपस्थिति थियो।

​त्यसैगरी युवा तथा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू— युवा संघ नेपालका जिल्ला कमिटी अध्यक्ष राजेश नगरकोटी, उपाध्यक्ष प्रितम राना, उपसचिव आशिष थापा, खेलकुद महासंघ केन्द्रीय सदस्य चन्द्र शाही सबिन मोक्तान, युवा नेता तीर्थ रोक्का, बुद्ध मोक्तान, सन्तोष भोम्जन, मनोज परियार, विवेक दाहाल, प्रकाश पुडासैनी अनेरास्ववियु जिल्ला सहसंयोजक रामचन्द्र व्लोन, नगर कमिटी अध्यक्ष रिजन केसी, हेटौंडा नगर कमिटी सदस्य इन्दिरा तामाङ, १९ नं वडा कमिटी अध्यक्ष देवेन्द्र अर्याल तथा सचिव रामप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो।

​बासुदेव खोलाको बाढीले बगाएर साना छात्राहरूले ज्यान गुमाउनु परेको यो खबरले सिङ्गो हेटौंडा र मकवानपुरबासीलाई स्तब्ध बनाएको छ। गाउँगाउँमा बर्खायाममा खोला तरेर विद्यालय जानुपर्ने विवशता अझै कायम रहेको भन्दै स्थानीय बासिन्दाहरूले यस्ता जोखिमयुक्त ठाउँमा तत्काल सुरक्षित झोलुङ्गे वा पक्की पुल निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.