हेटौंडा। हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर विद्यार्थीहरूको मृत्यु तथा बेपत्ता भएको हृदयविदारक घटनाप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले गहिरो दुःख र शोक व्यक्त गरेको छ। निर्मल माध्यमिक विद्यालयबाट अध्ययन सकेर घर फर्किने क्रममा साउन २५ गते साँझ बासुदेव खोलाको तीव्र बहावले चार जना छात्रालाई बगाएको घटनाले सिङ्गो जिल्लालाई नै स्तब्ध बनाएको भन्दै पार्टीले पीडित परिवारको घाउमा मलम लगाउन आर्थिक राहतको समेत घोषणा गरेको हो।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरका सभापति बुद्ध लामाद्वारा जारी आधिकारिक वक्तव्यमा विपद्मा परी ज्यान गुमाएका निर्दोष बालबालिकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ। साथै, दुर्घटनाका मृतक तथा घाइते परिवारहरूलाई राहत स्वरूप नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको तर्फबाट जनही रु. २५,००० (पच्चीस हजार) उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिइएको छ।
उक्त कारुणिक दुर्घटनामा परि राक्सिराङ–१ की रेशमा स्याङतान र बिनिता बोलनको निधन भइसकेको छ भने घाइते छात्रा सिमा बोलनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। नेपाली कांग्रेस मकवानपुरले घाइते छात्राको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अझै बेपत्ता रहेकी कक्षा ५ की छात्रा सुमित्रा बोलनको शीघ्र खोजी कार्यका लागि ध्यानाकर्षण गराएको छ।
यस दुःखद घडीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आह्वान गर्नुका साथै बालबालिकाहरूको जोखिमपूर्ण यात्रा अन्त्य गर्न स्थानीय सरकार र सम्बद्ध निकायसँग सुरक्षित पूर्वाधार तथा पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।











