चुनावका बेला दिइएका आश्वासन र बजेट विनियोजनको हिसाबकिताब खोज्न पुगेका सर्वसाधारणमाथि गृहमन्त्री सुधन गुरुङ आक्रोशित रूपमा प्रस्तुत भएका छन्। गोरखा क्षेत्र नम्बर १ अन्तर्गत शहीद लखन गाउँपालिका–९ मा आयोजित मतदाता अन्तर्क्रिया कार्यक्रममा स्थानीयले चुनावका बेला बाचा गरिएको स्वास्थ्य ल्याबको बजेटबारे प्रश्न गर्दा गृहमन्त्री गुरुङले रुखो शैलीमा ‘बरु भोट फिर्ता लैजान’ चुनौती दिएका हुन्।
स्थानीयले मन्त्रालयका सचिवलाई समेत फोन गराएर बजेट पारिदिने प्रतिबद्धता जनाएको स्मरण गराउँदै रातो किताबमा बजेट नदेखिएकोमा आक्रोश पोखेका थिए। गाउँलेको निरन्तरको दबाब र प्रश्नबाट घेरिएका मन्त्री गुरुङले सरकार बनेको चार महिनामै प्रतिफल खोज्न नमिल्ने तर्क गर्दै ‘भोट फिर्ता लैजान’ भनेका हुन्। साना-तिना सबै योजना बजेटको रातो किताबमा समेट्न सम्भव नहुने भन्दै उनले मतदातालाई पाँच वर्षसम्म धैर्य गर्न आग्रह गर्नुको साटो सोझै भोट फिर्ता लैजाने गैरजिम्मेवार अभिव्यक्ति दिएपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ।
जनप्रतिनिधिलाई आफूले चुनेर पठाएको नेतासँग चुनावी बाचाबारे हिसाब माग्ने अधिकार सर्वसाधारणलाई भए पनि मन्त्री गुरुङको यस्तो प्रतिक्रियालाई नागरिकको अपमानका रूपमा हेरिएको छ। कार्यक्रममा सहभागीहरूले जिताएर पठाइसकेपछि मात्र यस्तो कुरा सुनेको भन्दै व्यङ्ग्य गरेका थिए। अहिले सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ भने मतदाताको प्रश्न सामना गर्न नसकेर गृहमन्त्रीले दिएको ‘भोट फिर्ता’ को अभिव्यक्ति राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।








