बडीमालिका र खप्तडको सुन्दरतालाई पर्दामा उतार्न सुदूरपश्चिम पुग्दै ‘ए मेरो हजुर ५’ टिम

नेपाली चलचित्र क्षेत्रमा एउटा सफल ब्रान्डका रूपमा स्थापित ‘ए मेरो हजुर’ शृंखलाको पाँचौँ भागले आफ्ना दृश्यहरूमा प्राकृतिक तथा धार्मिक सौन्दर्यलाई प्राथमिकता दिने भएको छ। ललितपुरको पाटनस्थित प्रसिद्ध बंगलामुखी मन्दिरमा शुक्रबार शुभमुहूर्त गर्दै टोलीले काठमाडौंमा केही प्रारम्भिक दृश्य खिचेर सुदूरपश्चिमको प्रमुख पर्यटकीय एवम् धार्मिक स्थल बाजुराको बडीमालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको छ। हिमाल, संस्कृति र श्रद्धाको सङ्गम मानिने यस्ता अद्वितीय धार्मिक तीर्थस्थललाई सिनेम्याटिक पर्दामा समेटेर नेपालको पर्यटन र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाउने लक्ष्य निर्माण पक्षले लिएको छ।

​यसपटकको शृंखलामा दर्शकका लागि अर्को ठूलो सरप्राइज निर्देशक झरना थापाको पुनरागमन रहनेछ। करिब २५ वर्षअघि शिव रेग्मीको निर्देशनमा बनेको पहिलो ‘ए मेरो हजुर’मा मुख्य अभिनेत्रीका रूपमा छाएकी झरना त्यसपछिका शृंखलाहरूमा भने केवल निर्देशकको भूमिकामा सीमित थिइन्। पाँचौँ संस्करणमा आएर उनी पुनः अभिनयमै फर्किने भएपछि सिनेमाप्रति थप कौतूहल जागेको छ। सँगै, अनमोल केसी र सुहाना थापाको लोकप्रिय जोडीलाई ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ पछि तेस्रोपटक स्क्रिन सेयर गर्दै गरेको हेर्न पाउनु दर्शकका लागि अर्को मुख्य आकर्षण हुनेछ।

​सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिलकुमार थापाद्वारा निर्मित यस चलचित्रको कथा, पटकथा र संवाद झरना थापा तथा सरिन पोखरेलले मिलेर तयार पारेका छन्। सञ्जय लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहने यस सिनेमामा कल्याण सिंह, आशिष अविरल, कोसिस क्षेत्री, सलिन मगर र एकदेव लिम्बू जस्ता बहुचर्चित संगीतकारहरूको धुन सुन्न पाइनेछ। मुख्य जोडीका अलावा दिलीप रायमाझी, सलोन बस्नेत, निरज पन्थी र आशा भुसाल लगायतका खारिएका कलाकारहरूको अभिनयले फिल्मलाई अझ समृद्ध बनाउने विश्वास लिइएको छ।

​बक्स अफिसमा लगातार सफलताको कीर्तिमान रच्दै आएको यो सिरिजको पाँचौँ भागलाई आगामी नयाँ वर्ष २०८४ को अवसर पारेर देशभरका हलहरूमा एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ। काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरणको जिम्मा लिएको यस चलचित्रले अघिल्ला शृंखलाहरू जस्तै घरेलु बक्स अफिसमा पुनः नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.