साउन १२, काठमाडौँ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सुरु भएको विवादले उग्र रूप लिँदा सुनसरी र आसपासका क्षेत्रहरू अत्यन्तै तनावग्रस्त बनेका छन्। आइतबार राति धार्मिक यात्राका लागि डिजे बजाउने र मन्दिर परिसरमा झण्डा राख्ने विषयमा दुई पक्षबीच भनाभन सुरु भएको थियो। विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप भड्किएको हो। झडपमा १० जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मीसहित २२ भन्दा बढी घाइते भएका छन्।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दोस्रोपटक अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। मङ्गलबार दिउँसो कोशी गाउँपालिकास्थित भण्टाबारीको कोशी कटान क्षेत्रका दर्जनाैँ घर-पसलहरूमा लुटपाट, तोडफोड र आगजनी भएपछि प्रशासनले कडा कदम चालेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज अर्यालका अनुसार पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाइएको छ। यसअघि देवानगञ्ज, हरिनगरा तथा भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली र घुस्की बजार क्षेत्रमा दुई समुदायका युवाहरूबीच ढुङ्गामुढा र लखेटा-लखेट भएपछि स्थिति तनावग्रस्त बनेको थियो।
यसैबीच, सुनसरीमा साम्प्रदायिक सद्भाव खलबलिँदै गएपछि गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षकसहितको उच्चस्तरीय सुरक्षा समीक्षा बैठक बसेको छ। यता राजनीतिक तथा सामाजिक वृत्तबाट पनि सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाइएका छन्। सत्तारुढ तथा प्रतिपक्षी दलहरू रास्वपा, एमाले र राप्रपाले पृथक-पृथक विज्ञप्ति जारी गर्दै हिंसात्मक मुठभेडबाट समस्याको समाधान नहुने स्पष्ट पारेका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गरेका छन्।
त्यस्तै, काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी (Gen Z) अभियन्ताहरू मिराज ढुङ्गाना, डा. जगत विक र सौरभ भण्डारीले सरकारसमक्ष ५ बुँदे माग अघि सारेका छन्। उनीहरूले घटनाको निष्पक्ष न्यायिक छानबिन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट सुरक्षा कार्ययोजना र स्थानीय तहसँग नियमित संवाद संयन्त्र बनाउन सुझाव दिएका छन्। साथै, कुनै व्यक्ति वा समूहले गरेको अपराधलाई आधार बनाएर सिङ्गो धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर्याउनु सामाजिक सद्भावका लागि हानिकारक हुने भन्दै सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउन र शान्ति-सद्भाव कायम राख्न अपिल गरेका छन्।










