नेतृत्व परिवर्तनको प्रयास: बागमती एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

हेटौंडा ।
बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दलमध्येको एक नेकपा एमालेभित्र संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउन पार्टीका १८ जना सांसदहरूको हस्ताक्षरसहित बुधबार दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । चितवन क्षेत्रका दुई सांसद कृष्णप्रसाद सिलवाल र हरि सापकोटा प्रस्तावक बनेर दर्ता गरिएको यो प्रस्तावलाई पार्टी नेतृत्वको आन्तरिक निर्देशन र राजनीतिक आवश्यकता बमोजिम अगाडि बढाइएको नेताहरूले बताएका छन् ।

​यसअघि देखि नै जारी आन्तरिक छलफल र खिचातानीका बीच अन्ततः दलको नेता परिवर्तन गर्ने निर्णय सतहमा आएको हो । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले अविश्वासको प्रस्ताव दर्ता भई प्रक्रियामा गइसकेको पुष्टि गर्नुभएको छ । थपलियालाई विस्थापित गरी प्रदेशसभा सदस्य किरण थापामगरलाई संसदीय दलको नयाँ नेता चयन गर्ने उद्देश्यका साथ यो कदम चालिएको पार्टी स्रोतको भनाइ छ । एमाले संसदीय दलको विधानअनुसार प्रस्ताव दर्ता भएको ७ दिनभित्र दलको बैठक बसेर यस विषयमा छलफल र निर्णय गर्नुपर्ने व्यवस्था छ ।

​बागमती प्रदेशमा सरकार गठन र सत्ता साझेदारीको अंकगणित संवेदनशील अवस्थामा रहेका बेला एमालेभित्र चालिएको यो कदमलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्वमन्त्री समेत भइसकेका अनुभवी नेता थपलियाको विकल्प खोजिनु र नयाँ नेतृत्व अघि सार्ने तयारी हुनुले प्रदेशको भावी सत्ता समीकरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । प्रस्तावको पक्षमा आवश्यक बहुमत सुनिश्चित भए/नभएको विषय अब बस्ने संसदीय दलको औपचारिक बैठक र सांसदहरूको निर्णयपछि मात्रै स्पष्ट हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.